
विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी मोरङको अधिवेशन लम्बिएको छ । माधवकुमार नेपालले चैत १९ मा विराटनगरमा उद्घाटन गरेको एकीकृत समाजवादीको नवौं जिल्ला अधिवेशन नेतृत्व चयन गर्न नसकेपछि लम्बिएको हो ।
अधिवेशन दुई दिनसम्म चल्ने कार्यक्रम थियो । तर अध्यक्ष सर्वसम्मत गर्ने प्रयास सफल नभएपछि अधिवेशन लम्बिएको हो ।
केन्द्रीय नेताहरुले जिल्लाको चुनावी प्रतिस्पर्धा रोकेका हुन् । केन्द्रीय नेतृत्वले चुनाव रोकेपछि अधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरु घर फर्किसकेका छन् । प्रतिनिधि घर फर्किएपछि नेतृत्व चयन अनिश्चित भएको हो ।
एकीकृत समाजवादीको मोरङ अध्यक्षमा नौ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । तर मनोनयन सूची सार्वजनिक भएको छैन ।
अध्यक्षमा चन्द्रवीर राई, उद्धव पोखरेल र दीपक ढकाललगायतको दाबेदारी छ । पार्टी नेतृत्वले जिल्लाको चुनाव रोकेर सहमतिका लागि भन्दै आन्तरिक प्रतिस्पर्धा निषेध गरेको प्रतिनिधिको गुनासो छ ।

























