
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता छान्नका लागि निर्वाचनलाई निषेध गरेको छ । पार्टीको मोरङ जिल्ला अधिवेशनमा निर्वाचनलाई निषेध गरिएको हो ।
अध्यक्षका आकांक्षी प्रतिनिधिलाई घर पठाएर एकीकृत समाजवादी पार्टीका नेताले मोरङको नेतृत्व छानेका हुन् । मंगलबारदेखि सुरु भएको अधिवेशनको छैटौं दिन जिल्ला अध्यक्षमा चन्द्रवीर राई चयन भएका हुन् ।
पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि नेकपा एसको केन्द्रका नेताहरु पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका थिए । उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरीलगायतका नेताले पार्टी कार्यालयमा बसेर पदाधिकारी छानेका हुन् ।
उनीहरुले छनोट गरेको नेतृत्वबाट अध्यक्षमा चन्द्रवीर राई पुनः दोहोरिएका छन् । यस अगाडि पनि राई अध्यक्ष नै थिए । दीपक ढकाल उपाध्यक्ष बनेका छन् । अर्को उपाध्यक्ष पद खाली छ । सचिवमा तुलसी ढकाललाई चयन गरिएको छ । भूपाल बस्नेत, ढकबहादुर राई र सुभद्रा राईलाई उपसचिव बनाइएको छ ।
पदाधिकारी सरह नै रहने गरी प्रेम भारतीलाई कार्यालय सचिव बनाइएको छ । आर्थिक विभाग प्रमुखमा भने चन्द्रा शर्मा पराजुली चयन भएकी छन् । जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने थियो ।
७७ सदस्य मात्रै चयन गरेको छ । १ पदाधिकारीसहित १४ जना भने जिल्ला कमिटी बैठकले छनोट गर्नेछ । एमालेबाट फुटेर बनेको नेकपा एसको नवौं जिल्ला अधिवेशन हो ।

























