
काठमाडौं । राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ ।
अहिलेको व्यवस्थाविरुद्ध र राजतन्त्रको पक्षमा राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । त्यसका लागि स्थानीय प्रशासनबाट अनुमति लिइसकेको छ । प्रदर्शनअघि विभिन्न स्थानबाट र्याली निकालिने राप्रपाले जनाएको छ ।
शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूले विरोध प्रदर्शन जारी राखेका बेला राप्रपाले पनि सडक संघर्ष सुरु गर्ने भएको हो । प्रदर्शनलाई मध्यनजर गर्दै सवारी आवागमन सहज बनाउन प्रहरीले सवारीसाधनलाई ‘डाइभर्सन’को व्यवस्था मिलाएको छ ।
खसिबजार – मकालु – कलंकी चोक– बाफल तथा बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु र कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुनामा सवारीसाधन ‘डाइभर्ट’ गरिने छ । त्इस्तै । आवश्यक परेमा त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाइला, चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वरतर्फ पनि ‘डाइभर्ट’ गरिने प्रहरीले उल्लेख गरेको छ ।
्प्रहरीका अनुसार प्रदर्शनमा सहभागी हुनेहरुले सवारीसाधन लिएर आएमा पार्किङको व्यवस्थासमेत गरिएको छ । टियू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडकको दुवैतर्फ, चोभार सुख्खा बन्दरगाह, नयाँ बसपार्क र सीतापाइला – बाफल सडक खण्डको १ लाइन पार्किङ गर्न सकिने छ । नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भएर बानेश्वर र माइतीघर सडक खण्डको बीचमा तथा सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि ‘डाइभर्सन’को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रम हुने स्थान भएर चल्ने सवारीसाधनले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्ने छ । गत चैत १५ गते राजावादीले गरेको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीसमेत भयो । १ जना पत्रकारसहित २ जनाले ज्यान गुमाए । आजको प्रदर्शनमा समेत अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

























