विराटनगरको दरैयाबाट बालुवा गिट्टी भारत तस्करी : सशस्त्रको ‘सेटिङ’, जनप्रतिनिधि मौन

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ चैत्र २६, मंगलबार १३:२२

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचमा एउटा बाटो बनाइएको छ ।

त्यो बाटोबाट ट्याक्टरलगायतका ढुवानीका साधन सहजै वारिपारि गर्न सक्छन् । दैनिक दर्जनौं ट्याक्टर दरैया–टिकुलिया ओहोरदोहोर गरिरहन्छन् । ट्याक्टरको दोहोरीलत्ता चलिरहँदा सीमा क्षेत्रका बासिन्दा भने निरीहजस्तै छन् ।

Advertisement

उनीहरुले खुलेर विरोध गर्न सक्दैनन् । डर र त्रास देखाएर तस्करको गिरोहले स्थानीयलाई दबाबमा राखेका छन् । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि मौन छन् । उनीहरुले अनदेखा गरिरहँदा दरैया क्षेत्रमा लामो समयदेखि तस्करको रजगज चलिरहेको छ ।

सीमा क्षेत्रमा प्रत्येक सय मिटरको दुरीमा सशस्त्र प्रहरी खटाइएको हुन्छ । सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीसहित खटिएको सशस्त्रकै आँखा अगाडिबाट बालुवा र गिट्टी भारत तस्करी भइरहेको छ ।

विराटनगरको दरैयाबाट लामो समयदेखि नदीजन्य पदार्थको अत्यधिक तस्करी भइरहे पनि सम्बन्धित निकायले नियन्त्रणमा चासो दिएको छैन । सरकारले नेपालबाट नदीजन्य पदार्थ भारत लैजान प्रतिबन्ध लगाएको छ । तर, दैनिक दर्जनौं ट्याक्टरको प्रयोग गरेर खुलेआम रूपमा बालुवा र गिट्टी भारतको टिकुलियातिर अवैध हिसाबले तस्करी भइरहेको स्थानीय बताउँछन् ।

स्थानीयले बारम्बार गुनासो गरेसँगै वस्तुस्थिति बुझ्नलाई दरैया पुग्दा गजबको दृश्य देखियो । सीमा क्षेत्रको दशगजानजिकै नेपालतर्फ दरैयामा बालुवा र गिट्टी भण्डारण गरेर राखिएको छ । रुखले छेक्ने ठाउँमा थुपारेर राखिएको बालुवा र गिट्टी धमाधम बेल्चाले ट्याक्टरमा भर्नेहरु उत्तिकै व्यस्त देखिन्थे ।

भरिसकेपछि तत्काल टिकुलिया पुर्याएर ट्याक्टर फर्किन्छ । केहीबेरमै बालुवा भरेर पुनः टिकुलिया पुर्याउने काम हुन्छ । एउटा ट्याक्टरलाई बलुवा र गिट्टी ‘लोड’ गरेर दरैया–टिकुलिया गर्न १ घण्टा पनि समय नलाग्ने गरेको स्थलगत ‘रिपोर्टिङ’का क्रममा देखियो ।

यता तयारी अवस्थामा राखिएका ३–४ वटा ट्याक्टरमा नदीजन्य पदार्थ धमाधम भर्ने काम हुन्छ । त्यसका लागि ४–५ जना खटिएका हुन्छन् । पछिल्लो समय दरैया बालुवा र गिट्टी तस्करीको ‘ट्रान्जिट’ बनिरहेको छ ।

सशस्त्र प्रहरीसँग ‘सेटिङ’ मिलाएरै रातदिन बालुवा र गिट्टी तस्करी हुने गरेको विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ । यदि ‘सेटिङ’ नभएको भए आँखै अगाडिबाट बालुवा र गिट्टी भरिएको ट्याक्टर भारततिर लाग्दा सशस्त्रले रोक्न सक्थ्यो । तस्करी रोक्नुको साटो उल्टै कोही व्यक्ति सीमा क्षेत्रमा पुग्दा उसकै निगरानीतिर चैं सशस्त्रले ध्यान दिन्छ ।

नयाँ मान्छे सीमामा पुग्नसाथ तस्करको सहयोगी बनेर सशस्त्र निगरानीमा खटिन्छन् । स्थलगत ‘रिपोर्टिङ’मा पुगेका समयमा पनि सशस्त्रले यस्तै भूमिका निर्वाह गर्यो । बालुवा र गिट्टी तस्करी रोक्न छाडेर ‘रिपोर्टिङ’मा पुगेकाको अघि–पछि लाग्यो ।

तस्करीमा संलग्नहरु पनि नयाँ व्यक्ति देख्नसाथ सोधीखोजी गर्न थालिहाल्छन् । हप्कीदप्की नै गर्छन् । नेपाल ‘आफ्नै मात्र हो’ भनेजस्तो व्यवहार देखाउँछन् । दरैयाबाट नरेश यादवको समूहले बालुवा र गिट्टीको व्यापक धन्दा चलाइरहेको हो । विभिन्न क्रसरबाट खरिद गरिएको नदीजन्य पदार्थ सीमा क्षेत्रमा भण्डारण गरेर टिकुलिया कटाउने धन्दामा उनको समूह सक्रिय छ ।

यादवकै समूहले ट्याक्टर कुदाउन सहज हुने गरी दरैया–टिकुलिया वारपार गर्ने बाटो बनाएको स्थानीय बताउँछन् । यादवले भने आफूले बाटो बनाएको अस्वीकार गरे । ‘यहाँ पहिलेदेखि नै बाटो बनाइएको थियो । मैले हैन । वारपार गर्ने बाटो त चाहियो नि । अलिअलि काम गरौं कि भनेको तर, पारिपट्टी एसएसबी (भारतीय सीमा सुरक्षा बल)ले अवरोध गर्छ । नेपालमा पनि धेरैलाई मिलाउनुपर्ने हुन्छ । अहिले काम राम्रो चलेको छैन,’ उनले भने ।

उनले नेपाल र भारत दुवैतर्फ ‘सेटिङ’ मिलाएपछि मात्रै काम सहज हुने बताए । यादवले अहिले मात्रै हैन । लामै समयदेखि बालुवा र गिट्टीको तस्करी गरिरहेका छन् । विगतजस्तो काम गर्न अहिले गाह्रो भएको उनले बताए । काम चलेका बेला क्रसर उद्योगमा उत्पादित बालुवा र गिट्टी सबैलाई मिलाएर भारत लैजाने गरेको यादव स्वीकार गर्छन् ।

दरैयामा तस्करीकै लागि बनाइएको बाटो केही वर्षअघि प्रहरीले डोजर लगाएर भत्काएको थियो । प्रहरीले भत्काए पनि पुनः बाटो बनाएर धन्दा चलाइएको छ । नेपालको बालुवा र गिट्टीको भारतमा माग अत्यधिक हुन्छ । भारतको भन्दा गुणस्तरीय हुने हुँदा महँगो मूल्यमा बिक्री हुने सुरक्षा स्रोतले बतायो ।

‘नेपालको नदीजन्य पदार्थ गुणस्तरीय हुन्छ । त्यही भएकाले भारतमा अत्यधिक माग हुने गरेको हो । मूल्य पनि दोब्बर नै पर्छ । नेपालमा ४ हजार प्रतिट्याक्टरमा खरिद गरिने बालुवा भारत पुर्याउँदा ५ हजार भारु (नेपाली ८ हजार) दिइहाल्छन् । त्यही भएर सबैसँगको ‘सेटिङ’मा भारत तस्करी हुने गरेको छ,’ स्रोतले भन्यो ।

स्थानीयका अनुसार सुरक्षा निकायदेखि सरोकारवालाकै सहयोगमा तस्करले निर्वाध रुपमा बालुवा र गिट्टी भारत तस्करी गर्ने गरेका छन् । ‘सुरक्षा निकायले मिलेमतो गरेर तस्करलाई साथ दिइरहेका छन् । राम्रै रकममा मोलमोलाइ भएर तस्करीमा सहज बनाइएको छ,’ १ स्थानीय भन्छन् ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले बालुवा र गिट्टी तस्करी हुने गरेको जानकारी आउनसाथ कडाइ गरिएको बताउँछन् । एसपी घिमिरे करिब अढाई महिनाअघि सशस्त्रको प्रमुख भएर मोरङका हुन् ।

‘तस्करी हुने गरेको मैले पनि थाहा पाएँ । त्यसपछि काम रोक्न लगाएको छु । अझै पनि तस्करी भइरहेको पाइयो भने सीमा क्षेत्रमा खटिने सशस्त्रमाथि कारबाही हुन्छ । दुई नम्बरी धन्दा चलाउनेसँग कुनै सम्झौता हुँदैन,’ घिमिरेले भने । तर, घिमिरेले भनेजस्तो तस्करी रोकिएको छैन ।

विराटनगर–१६ का वडाध्यक्ष उद्धवकुमार भुजेल खुला सीमाको फाइदा उठाएर तस्करी हुने गरेको स्वीकार गर्छन् । हुन त वडाध्यक्षकै संयोजकत्वमा सीमा निगरानी समिति बनाइएको छ । समितिमा सुरक्षा निकाय, जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि हुन्छन् ।

समितिले नियमित रूपमा अगुमन गर्दै सीमा क्षेत्रको वस्तुस्थितिका बारेमा जानकारी राख्नुपर्ने हुन्छ । अनुगमन गर्दै दशगजा अतिक्रमण, चोरी–तस्करीलगायतका अवैध गतिविधि, हातहतियार एवं लागुऔषधको ओसारपसार र कारोबार नियन्त्रणमा भूमिका खेल्नुपर्ने जिम्मेवारी समितिको हो । तर, नदीजन्य पदार्थको अत्यधिक तस्करी भइरहँदा समितिले नियन्त्रणका लागि कुनै भूमिका खेलेको पाइँदैन ।

वडाध्यक्ष भुजेलले बेलाबखत सीमाको अनुगमन गर्ने गरिएको बताए । बाटै बनाएर खुलेआम तस्करी हुँदा नियन्त्रणका लागि समितिले किन भूमिका नखेलेको ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘खुला सीमाको फाइदा उठाए होलान् । हामी पनि सीमामा बिहान–बेलुका घुम्छौं । आँखाको अगाडि गर्दैनन् । जतिबेला पनि वडाध्यक्ष सीमा रुँगेर बस्ने कुरा भएन ।’

सानोतिनो चोरी–तस्करी रोक्न सम्भव नहुने भुजेलको भनाइ छ । ‘हामी जनप्रतिनिधि आफ्नै काममा हुन्छौं । सीमा क्षेत्रमा जतिबेला पनि सुरक्षाकर्मी हुन्छन् । तस्करी रोक्नुपर्ने दायित्व उनीहरुको हो । चोरी–पैठारी नहोस् भनेर नै रातको समयमा बल्ने गरी बिजुली बत्ती जडान गरिदिएका छौं,’ उनले भने ।

सीमाको अनुगमन भइरहेको बताउने वडाध्यक्ष भुजेलले बाटै बनाएर बालुवा गिट्टी तस्करी भइरहेको विषयमा भने अनभिज्ञता प्रकट गरे । स्थानीय स्तरमा रोक्न सम्भव नभएपछि चोरी तस्करी भइरहेको कुरा माथिल्लो तहसम्म पुर्याइएको उनको भनाइ छ । ‘सम्बन्धित ठाउँमा जानकारी गराइसकेका छौं । रोक्नलाई पहल हुँदै होला,’ भुजेलले भने ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालुवा र गिट्टी तस्करी रोक्न तत्काल प्रहरी परिचालन गरिने बताए ।

तपाइको प्रतिक्रिया
एमाले महाधिवेशन : पदाधिकारीमा विराटनगरबाट काे–काे छन् उम्मेदवार ?
एमाले महाधिवेशन : विराटनगरबाट ६ जना केन्द्रीय सदस्यकाे उम्मेदवार
एमाले महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान
पश्चिमी वायुकाे प्रभाव, कस्ताे छ आजकाे माैसम ?
बढेकाे बढ्यै डलरकाे भाउ, यस्ताे छ अन्य मुद्राकाे विनिमयदर
पेट्राेलकाे मूल्य बढ्दा डिजेलकाे घट्याे
सरकारी कार्यालय आगजनीका आरोपी छुट्दा विराटनगरमा फूलमाला र नाराबाजी, पूर्वमन्त्रीको जिम्मामा रिहा
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुस ४ देखि
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
भन्सार ऐनको प्रावधानबारे विराटनगरमा अन्तरक्रिया
महाधिवेशनमा चार नेताले छाडे केपी शर्मा ओलीको साथ, प्रदीप ज्ञवाली पनि रुष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.