
विराटनगर । मोरङ र झापामा चट्याङले लागेर बुधबार दिउँसो दुई जनाको मृत्यु भएको छ । मोरङको होक्लाबारीमा साइकल चलाइरहेका बालकको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको गौरादह नगरपालिका–५ मा चट्याङले ५४ वर्षीय दुधकुमार लावतीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे घर भइ स्थानीय गोमनाथ चेम्जोङको खेतीमा काम गर्ने लावतीको चट्याङले मृत्यु भएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा परेको चट्याङले १२ वर्षीय आविष्कार बरालको मृत्यु भएको छ । प्रहरीका अनुसार मामा शंकर दाहालको घरमा पाहुना आएका सुनसरीको इटहरीका विश्वराज बरालका छोरा आविष्कारलाई साइकल कुदाइरहेको अवस्थामा परेको चट्याङले लाग्दा मृत्यु भएको हो ।
चट्याङले गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर ल्याइएको थियो । चिकित्सकले जाँच गरी उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।























