
विराटनगर । नेकपा (एमाले) अहिले सरकारको नेतृत्व गरिरहेको दल हो । नेपाली कांग्रेससहितको सरकारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् ।
तर, सरकारको कामकारबाहीप्रति जनमानसमा असन्तुष्टि बढ्दो छ । आफैंले नेतृत्व गरिरहेको सरकारबाट यो चैं गतिलो काम भयो भनेर एमालेले पनि जनतालाई स्पष्ट पार्न सकेको छैन । हुन त नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका कामकारबाहीप्रति पनि जनअसन्तुष्टि उत्तिकै थियो ।
ओलीले अहिले नेतृत्व गरेको सरकार दुईतिहाइ बहुमतको छ । कांग्रेससहित साना दलको समर्थनमा सरकारको नेतृत्व गरिरहेका ओलीलाई जनमुखी काम गर्नुपर्ने जिम्मेवारी छ । तर, सरकारमा बसेर जनपक्षीय काम गर्नुपर्ने एमालेले आफैं प्रतिपक्षी वा विरोधीजस्तो भएर सडकमा उत्रिनुपर्ने अवस्था आएको छ । अर्थात्, सरकारको नेतृत्व आफैंले गरिरहेका बेला सडकमा समेत आउनुपर्ने आपत् एमालेलाई आइपरेको हो ।
ओलीले सरकारबाट जनमुखी काम गर्छ छाडेर सडक तताउन आउने निर्णय लिएपछि विरोध एवं आलोचना धेरै भइरहेको छ । हुन त दलहरुकै कारण यो परिस्थिति बनेको हो । दलकै अकर्मण्यताले मुलुकमा व्यवस्था विरोधी गतिविधि बढिरहेको छ । राजावादीका नाममा हिंसात्मक आन्दोलनसमेत भयो ।
‘मुलुकमा राजा चाहिन्छ’ भनेर आवाज उठाउनेहरुलाई दलकै गलत गतिविधिले मलजल गरिरहेको तथ्य कतै लुक्दैन । सत्ताको नेतृत्व गरिरहेको एमाले मात्रै हैन, सत्तारुढ कांग्रेसदेखि प्रतिपक्षी माओवादीलगायत आफूलाई गणतन्त्र एवं लोकतन्त्रवादी भन्न रुचाउने दलहरुकै गतिविधिले व्यवस्थाविरुद्धको आवाजलाई मजवुत बनाएको विश्लेषण गर्न थालिएको छ ।
व्यवस्थालाई मजवुत बनाउने भन्दा पनि आफ्नै स्वार्थमा दलहरु रुमलिदा विरोधीले फाइदा लिन खोजेको देखिन्छ । मुलुक र जनताका लागि भन्दा पनि आफ्ना लागि मात्रै नेताहरु केन्द्रित बनेको आरोप लागिरहेको छ । मुलुक संकटको डिलमा पुग्दासमेत दल र नेताहरुबीचमा बेमेल बढ्दो अवस्थामा छ । सत्तामा पुग्ने र टिकाउनेमा नेता केन्द्रित छन् ।
तर, एकअर्कालाई आरोप लगाएर आफूले गरेको गल्ती एवं बदमासीबाट उम्किने प्रयास गरिरहेका छन् । विभिन्न अनियमितता, भ्रष्टाचार तथा जनविरोधी गतिविधिलाई शीर्ष नेताहरुले नै प्रश्रय दिइरहेको आरोप लाग्छ । उनीहरुको व्यवहार, गतिविधि र कामकारबाहीले उक्त आरोपलाई पुष्टि गर्छ ।
माओवादीकै अगुवाइमा बनेको समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गरेको थियो । व्यवस्थाविरुद्ध आवाज उठेको भन्दै प्रदर्शन गरिए पनि व्यवस्थालाई मजवुत बनाउनेतर्फ कसरी केन्द्रिन हुने भन्ने कुनै ‘भिजन’ नेताहरुमा छैन । उल्टै उनीहरुकै कारण व्यवस्था धराशायी बन्दै गइरहेको छ ।
लोकतान्त्रिक गणतन्त्र अहिलेको उत्तम व्यवस्था हो भन्न नेताहरुले छाडेका छैनन् । तर, सडकमा व्यवस्था विरोधी अन्दोलन बढ्दै जाँदा आफ्नो व्यवहार र शैली सुधार्नेतर्फ उनीहरुले ध्यान नदिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
सत्तारुढ एमालेले चैत ३० गते अर्थात शनिबार झापाको दमकमा जनसभा तथा प्रदर्शन गर्दैछ । शुक्रबार बुटवलमा गर्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै गृहनगर दमकमा हुन लागेको जनसभालाई चासोका साथ हेरिएको छ । व्यवस्थामाथि धावा बोलिएको भन्दै यसअघि एमालेले विभिन्न ठाउँमा प्रदर्शन गर्यो ।
प्रतिगामीहरूलाई टाउको उठाउन नदिने भन्दै अझै केही ठाउँमा प्रदर्शन एवं जनसभा गर्ने एमालेको तयारी छ । जरा अभियानमार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमाले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धि रक्षाका लागि सक्षम रहेको दाबी गर्छ । तर, एमालेको जरा अभियान नै प्रभावकारी हुन सकेको छैन ।
एमाले नेताहरु अहिले सुदृढ एवं बलियो आधार तयार गर्न पार्टी परिचालन भइरहेका बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधि गरिरहेको दाबी गर्छन् । तर, आफैं सरकारमा भएको दलले त्यस्ता गलत र अवाञ्छित गतिविधि रोक्न किन सकेन वा चाहेन ? भन्ने प्रश्न उठेको छ ।
व्यवस्था विरोधी र अवाञ्छित गतिविधि बढेको भए नियन्त्रण गर्नुपर्ने वा असन्तुष्ट पक्षलाई मिलाएर अघि बढ्पर्नेमा आफैं सडकमा ओर्लिएपछि एमालेमाथि नैतिक प्रश्न नै उठेको हो । आफैं सरकारको नेतृत्वमा रहेका बेला विरोधीजस्तो सडकमा आउनु गलत भएको टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री ओलीले दुईतिहाइको दम्भ देखाउन खोज्दा मुलुकको परिस्थिति भड्किदै गएको आरोप कतिपयको छ ।
‘सत्ताको नेतृत्व गरेको दल नै सडकमा आउन अलिक मिलेन,’ राजनीतिक विश्लेषक गिरिश भट्टराई भन्छन्, ‘यस्तो कार्य सत्ता नेतृत्वकर्तालाई सुहाउँदैन ।’ काम गर्नुपर्ने बेलामा सडकमा आइहाल्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘ठूला २ दलको सरकार आफैंमा दम्भ जस्तो देखिन्छ । अहिले के त्यस्तो आइपर्याे सडकमा नओर्लि नहुने ? सरकारमा दुईतिहाइ छ । काम गर्नुपर्ने हो । तर, यहाँ त उल्टो भयो । कसका लागि सडकमा आउने ?,’ भट्टराईले प्रश्न गरे ।
सत्तारुढ दलले प्रदर्शन गर्नु भनेको सडकमा भिड देखाउनेबाहेक अरु केही नभएको उनी बताउँछन् । कानुन निर्माण गर्ने र ‘डेलीभरी’ दिने विषयमा बलियो सरकारलाई धेरै ठाउँ रहेको भन्दै भट्टराईले के का लागि सडक तताउने ? भनेर प्रश्न गरेका छन् । सरकारमा रहेका बेला जनतालाई राम्रा काम गरेर खुसी पार्नुको साटो आफैं सडकमा उपस्थित हुनुले गलत थिति बसाल्ने उनको विश्लेषण छ ।
‘काम गर्न बिर्सिएर सडकमा किन आउनु पर्याे ? संसदीय व्यवस्थामा सडक विपक्षीको हो । बलियो सरकार देखाउन सडकमा आउनै पर्दैन । जनमुखी काम गर्दा हुन्छ,’ भट्टराई भन्छन् ।
अर्का राजनीतिक विश्लेषक शान्तिराम भण्डारीको मत भने फरक छ । सत्तापक्षले सडकमा प्रदर्शन गर्नु नौलो नभएको उनले बताए । ५–५ वर्षको आवधिक निर्वाचनमा बीच–बीचमा आफ्नो शक्ति परीक्षणका लागि दलहरु सडकमा आउने भण्डारीको भनाइ छ ।
‘सरकारमै भए पनि सडकमा आउन नहुने भन्ने होइन । आउन मिल्छ । यसअघि पनि नेतृत्वकर्ता दलहरु आएका छन् । यो दलहरुले गरेको आफ्नो परीक्षण हो । गलत तरिकाले व्याख्या गर्न हुँदैन’ उनले भने ।
राजनीतिक विश्लेषक मणि दाहाल सरकारको नेतृत्व गरिरहेको दल सडकमा आउनु गलत भएको बताउँछन् । ‘राजनीतिक नैतिकता हुँदा सरकारको नेतृत्व गरेको दल सडकमा आउँदैन । जनताको आवाज सम्बोधन हुनेगरी काम गर्छ । नैतिकता नहुँदा जेगर्दा पनि हुन्छ,’ उनले भने ।
सरकारले काम गर्न नसक्दा जनतामा आक्रोश बढेको सम्झदै दाहालले आफ्नो कर्तव्य भुलेर सरकार सडकमा आएको बताए । ‘सडकमा आउने सबै राजावादी होइनन् । सरकारले काम गर्न नसकेपछिको असन्तोष पोखिएको हो । बलियो सरकारले काम गर्नुपर्ने हो । सडकमा प्रदर्शन होइन,’ उनी भन्छन् ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा व्यवस्थामाथि नै धावा बोलिन थालेपछि देशव्यापी रुपमा सडकमा आउनु परेको दाबी गर्छन् । सडकबाट जनतालाई सचेत गराइने उनले बताए । सत्तामा रहेको दल सडकमा आउन मिल्दैन भन्नु लगत भएको खतिवडा बताउँछन् ।
‘सरकारविरुद्ध मात्रै सडकमा आउनुपर्छ भन्ने बुझाइ गलत छ । लोकतन्त्र बलियो बनाउनका लागि जागरणसभा गर्न थालिएको हो,’ उनले भने, ‘धेरै कुराहरुमा जनतालाई भ्रममा पार्न खोजिएको छ । त्यसलाई चिर्न जागरणसभा गर्नैपर्ने अवस्था आयो ।’ मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सलबलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको खतिवडाले बताए ।
उनका अनुसार एमालेको मिसन ८४ र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई कमजोर बनाउन प्रतिगामीहरूले अराजक गतिविधि बढाएको पार्टीको निष्कर्ष छ । दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए ।

























