
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियो सन्देशमा दिएको अभिव्यक्तिप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने ।
काठमडौंको तीनकुनेमा भएको घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधारणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश मच्चाइएको थियो‘ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो ।’

























