
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा सरकार परिवर्तन हुन्छ भनेर अभिव्यक्ति दिँदै भ्रम फैलाउन खोजेको निष्कर्ष सत्तारुढ नेकपा (एमाले)ले निकालेको छ ।
देश नयाँ सरकार बन्ने दिशामा अघि बढेको दाबी प्रचण्डले गरेसँगै एमालेले त्यसको खण्डन गरेको हो । एमाले सचिवालय बैठकपछि सोमबार उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डको अभिव्यक्ति कुण्ठा र पीडाबोधको भएको बताए ।
‘सत्ता बाहिर रहँदाको मानसिकता हो यो । न त अहिले सरकार परिवर्तनको सम्भावना छ । न आवश्यकता नै,’ ज्ञवालीले भने । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रचण्डले फैलाएको सरकार परिवर्तनको हल्लालाई पूर्णतः अस्वीकार गरेको हो ।
ज्ञवालीले प्रचण्डलाई सत्तामोहबाट ग्रसित भएको आरोपसमेत लगाए। चितवन पुगेका प्रचण्डले नयाँ राजनीतिक घटना क्रमको संकेत दिँदै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने धारणा सार्वजनिक गरेका थिए।
प्रचण्डको संकेत र एमालेको खण्डनसँगै सत्ता समीकरण फेरिने हो कि भन्ने चर्चा चैं चुलिएको छ। तर, हालको राजनीतिक अंकगणितले सरकार परिवर्तन त्यति सहज नभएको देखाउँछ ।

























