देवानगन्ज गोली काण्ड : भिडन्तमा उत्रिए तस्कर, नजिकैको प्रहरी बेखबर

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ वैशाख ३, बुधबार १८:४३

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–२ को यादव टोलनजिकै नयाँ वर्षको दिन गत सोमबार साँझ करिब ६:३० बजेतिर गोली चल्यो । घटनामा ३ जना घाइते भए । २ जनालाई गोली लागेको र १ जना मोटरसाइकलबाट लडेर घाइते भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली लागेकामध्ये १ जनाको अवस्था गम्भीर छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार गोली लागेर देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता र देवानगन्ज–१ का अन्दाजी २५ वर्षीय रविनकुमार यादव घाइते भएका छन् । देवानगन्ज–१ का अन्दाजी २१ वर्षीय पिन्टु यादव लडेर घाइते भएको उनले बताए ।

Advertisement

घाइतेमध्ये ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेका शिवकुमारको अवस्था गम्भीर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत उनको शल्यक्रिया गरेर दुवै गोली निकालिएको एसपी तिम्सिनाले बताए । प्रहरीकै निगरानीमा शिवकुमारको उपचार जारी छ ।

नाकमा गोली लागेका रविनकुमार र मोटरसाइकलबाट लडेर घाइते भएका पिन्टुको अवस्था सामान्य छ । नोबेलमै सामान्य उपचारपछि दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार रहेकाहरु बीच सुरुमा दोहोरो झडप भएको र पछि गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

देवानगन्ज–२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार घटनास्थल बाक्लै घरहरु भएको यादव टोलबाट करिब २५ मिटर दुरीमै छ । देवानगन्ज बजारबाट करिब ५ सय मिटर उत्तरमा पर्छ । यादव टोल इलाका प्रहरी कार्यालय देवानगन्जबाट करिब १ किलोमिटर पूर्वमा पर्ने वडाध्यक्ष जगनारायणले बताए । देवानगन्जमा इन्स्पेक्टर कमल विष्टको नेतृत्वमा प्रहरी परिचालित छ ।

तर, आपसी विवादमा दोहोरो झडप भएर गोली चलेको लामो समयसम्म प्रहरी बेखबर रहयो । कार्यालयनजिकै गोली काण्ड हुँदा पनि बेखबर हुनुले प्रहरीको कामकारबाही र भूमिकामाथि प्रश्न उठेको छ ।

‘नयाँ वर्षको दिन गाउँघरमा कुनै लफडा हुन्छ कि भनेर प्रहरी चनाखो बस्नुपर्ने थियो । व्यापक प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पार्नुपर्ने थियो । तर, घटनाले देवानगन्जमा प्रहरी उपस्थिति कमजोर रहेको पुष्टि हुन्छ । गाउँमा गोली काण्ड मच्चिएको लामो समयसम्म प्रहरीले थाहै पाएन,’ १ स्थानीय भन्छन् ।

प्रहरीले घटना करिब डेढ घण्टापछि मात्रै थाहा पाएको थियो । घाइते भएकामध्ये शिवकुमारलाई उपचारका लागि अस्पताल ल्याएपछि प्रहरीले घटनाको जानकारी पाएको हो । त्यसलगत्तै सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिना नेतृत्वको टोली घटनास्थलतर्फ गयो ।

तिम्सिना नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै अरु पनि घाइतेहरु रहेको पत्ता लाग्यो । सुरुमा शिवकुमार मात्रै घाइते भएको कुरा आएको थियो । उनलाई अस्पताल ल्याइए पनि रविन र पिन्टुलाई उपचारका लागि लगिएको थिएन । एसपी तिम्सिनाकै टोलीले दुवै जनालाई उपचारका लागि नोबेल पठाएको हो ।

प्रहरीले घटना थाहा पाउँदा घाइतेहरु बाहेक गोली काण्डमा संलग्न अरु फरार भइसकेका थिए । अहिलेसम्म पक्राउ परेका छैनन् । यद्यपि, घटनामा संलग्न भनिएकाहरुको पहिचान खुलिसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

एसपी तिम्सिना सुरुमा घटना लुकाउन खोजिएको बताउँछन् । ‘घटना लुकाउनलाई नै गम्भीर घाइतेलाई सुटुक्क अस्पताल ल्याइएछ । सामान्य अवस्थाका २ जनालाई गाउँमै राखेको पाइयो । प्रहरी घटनास्थलमा पुगेपछि मात्रै उनीहरु घाइते भएको पत्ता लाग्यो । तर, घटना थाहा पाएयता प्रहरीका तर्फबाट गम्भीर ढंगले अनुसन्धान भइरहेको छ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहाल घटनाका बारेमा प्रहरीले कतिबेला थाहा पायो वा पाएन भन्दा पनि पीडित र स्थानीयले कुन समयमा प्रहरीलाई घटनाको जानकारी दिए भन्ने कुरा अर्थ राख्ने बताउँछन् । ‘घटनाको जानकारी आउनसाथ प्रहरीले ‘रेस्पोन्स’ गरेको छ । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठायो,’ दाहाल भन्छन्, ‘यो घटना कुनै आर्थिक पाटोसँग जोडिएको हुनसक्छ । आर्थिक कारणले धेरै अपराधहरु भइरहेका छन् ।’

प्रहरीका अनुसार देवागन्ज–७ का जयकृष्ण यादवले गोली चलाएको पत्ता लागेको छ । सुरुमा कामेश्वर यादवले गोली चलाएको भनिएको थियो । तर, कामेश्वरले नभइ जयकृष्णले गोली चलाएको घाइतेहरुले प्रहरीलाई बताएका छन् । कामेश्वर र जयकृष्ण बाबु–छोरा हुन् । अहिले दुवै जना फरार छन् ।

अर्कोतर्फ घटनामा भारतीय नागरिकहरु राजा पासवान र बाबुल यादव पनि संलग्न रहेको पत्ता लागेको छ । राजा पासवान कुख्यात अपराधी रहेको जानकारी नेपाल प्रहरीले प्राप्त गरेको छ । भारतीय प्रहरीलाई केही समयअघि गोली हानेको घटनामा उनको संलग्नता रहेको उच्च सुरक्षा स्रोतले बतायो ।

‘भारतीय प्रहरीलाई गोली हानेर फरार रहेका राजा भारतमा ‘मोस्ट वान्टेड’ सूचीमा रहेछन् । उता खोजी भइरहेको पाइयो । त्योबाहेक लागुऔषध र चोरीलगायतका विभिन्न मुद्दाको फरार प्रतिवादीसमेत रहेको पत्ता लाग्यो,’ प्रहरीका १ अधिकृतले भने । भारतमा अपराध गरेर आश्रय लिन नेपाल छिरेका उनको समूहले पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध र तस्करीको धन्दा चलाइरहेको प्रहरीका ती अधिकृतले बताए ।

उनका अनुसार देवानगन्ज गोली काण्डमा संलग्न भनिएका अर्का भारतीय नागरिक बाबुल यादव पनि भारतीय प्रहरीको खोजी सूचीमा छन् । भारतीय प्रहरीले खोजी गरिरहेका उनीविरुद्ध भारतमा लागुऔषध र चोरी मुद्दा जीवितै रहेको नेपाल प्रहरीको भनाइ छ ।

सुनसरी प्रहरी प्रमुख एसपी तिम्सिनाका अनुसार गोली काण्ड मच्चाउने र घाइते हुनेहरु साथी–साथी रहेको पत्ता लागेको छ । सीमा क्षेत्रबाट तस्करी र लागुऔषधको धन्दा चलाइरहेका उनीहरु बीचमा लेनदेन विवाद देखिएको प्रहरीको भनाइ छ । ‘तस्करीको पैसा बाँडफाँटमा कुरा नमिलेपछि सुरुमा भिडन्तमा उत्रिएछन् । दोहोरो झडप र हानाहान भएको स्थानीयले देखेका रहेछन् । पछि ३ राउण्डजति गोली चलेको रहेछ,’ प्रहरी स्रोतले भन्यो ।

घटनामा कति व्यक्ति संलग्न थिए भनेर अहिलेसम्म यकिन छैन । तर, प्रारम्भिक अनुसन्धानबाट ६ जनाभन्दा बढी व्यक्तिहरु घटनामा प्रत्यक्ष जोडिएको देखिन्छ । प्रहरीका अनुसार हालसम्म पक्राउ परेका रविनलाई लागुऔषध गाँजा तस्करीसँग जोडिएको मुद्दामा करिब १ महिनाअघि अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

फरार रहेका जयकृष्ण र उनका बाबु कामेश्वरविरुद्ध पनि यसअघि मुद्दा चलेको प्रहरीले जनाएको छ । जयकृष्णविरुद्ध लागुऔषध र चोरी तथा कामेश्वरविरुद्ध मोटरसाइकल चोरीमा मुद्दा चलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भनिएका शिवकुमार र पक्राउ परेका पिन्टुविरुद्ध समेत यसअघि मुद्दा चलेको पाइएको जानकारी प्रहरीले दिएको छ ।

एसपी तिम्सिना पक्राउ परेका, घाइते भएका र फरार रहेकाहरु सीमा क्षेत्रमा बसेर विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएको बताउँछन् । ‘सबै आपराधिक पृष्ठभूमिका व्यक्तिहरु हुन् । कुनै न कुनै अपराधमा जोडिएका छन् । प्रत्येकविरुद्ध विगतमा २ वटाभन्दा बढी मुद्दा चलेको रहेछ । भारतमा समेत प्रहरीको खोजी सूचीमा रहेको पायौं,’ उनले भने ।

‘सबै जना गाँजालगायतका लागुऔषधका कारोबारी र तस्कर हुन् । विभिन्न मुद्दामा अदालतले धरौटी वा साधारण तारेखमा छाडेपछि पुनः अपराधिक गतिविधिमै संलग्न हुने गरेको पाइयो,’ प्रहरी स्रोतले भन्यो । लेनदेनसँग जोडिएको विवाद उग्र हुँदै गएपछि ज्यानै लिने हिसाबले गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानका आधारमा प्रहरीले यो जानकारी दिएको हो ।

फरार रहेकाहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएपछि घटना अर्कोतिर मोडिनसक्ने पनि प्रहरीको आशंका छ । प्रहरीका अनुसार स्थानीयले भने दुवै तर्फबाट गोली हानाहान भएको बताएका छन् । घटनाको वास्तविकतामा पुग्न फरार रहेकाहरु पक्राउ पर्नैपर्ने हुन्छ । तर, लेनदेन विवादकै कारण गोली चलेको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रहरीले घटनास्थलबाट एउटा भारतीय (बीआर ३८ ए एम ४९४०) नम्बर प्लेटको सहित २ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलको धनी पत्ता लाग्न बाँकी छ । घटनास्थलबाट प्रहरीले पेस्तोलमा प्रयोग हुने गोलीका ३ वटा खोका पनि बरामद गरेको छ । खोकाको आधारमा गोली पेस्तोलबाटै प्रहार गरिएको निष्कर्षमा प्रहरी पुगेको छ ।

देवानगन्ज भारतसँग सीमा जोडिएको पालिका हो । घटनास्थलबाट भारत करिब ४ किलोमिटर टाढा मात्रै रहेको स्थानीय बताउँछन् । वडाध्यक्ष जगनारायण मेहता गोली हान्ने र घाइते हुनेहरु एउटै समूहका रहेको बताउँछन् । ‘उनीहरु तस्करीदेखि विभिन्न अपराधमा संलग्न थिए । मोटरसाइकल चोर्नेदेखि गाँजाको धन्दा र तस्करी चलाउनेलगायतका विभिन्न अपराधमा उनीहरु संलग्न रहेको पायौं । सुरुमा हानाहान गरेछन् । त्यसपछि गोली चलाएछन्,’ जगनारायण भन्छन् ।

सीमा क्षेत्रबाट तस्करी चलाउँदा सम्बन्धित निकायले रोक्नलाई चासो नदिएको उनको गुनासो छ । ‘तस्करी रोक्नुपर्छ भनेर हामीले माथिल्लो निकायसम्म पटकपटक कुरा गरिसक्यौं । तस्करी र अवैध धन्दाले पूरै गाउँ बिग्रिसक्यो । बालबालिकासमेत तस्करीमा संलग्न छन् । तर, रोक्नलाई प्रहरी प्रशासनले चासै दिँदैन । कुरा राख्दा बेवास्ता गरिन्छ,’ उनले भने ।

तस्करीकै कारण ज्यानै लिनेगरी गोली हान्नेजस्तो जघन्य अपराध भएको जगनारायणको बुझाइ छ । ‘तस्करसँग हामी भिड्ने कुरा भएन । हतियार बोकेका सुरक्षाकर्मीले उनीहरुलाई नै सहयोग गर्छन् । तस्करीलगायतका विभिन्न अपराधमा मुछिएर गाउँका धेरै जना युवा जेलमा छन्,’ उनले भने ।

देवानगन्ज गाउँपालिका उपाध्यक्ष कुमारी बिभा यादवले गोली प्रहारजस्तो घटना हुन थालेपछि स्थानीयले असुक्षित महसुस गरेको बताइन् । ‘देवानगन्ज भारतसँग सीमा जोडिएको पालिका हो । भारतीयहरु पनि ओहोरदोहोर गर्छन् । गोली चलेपछि स्थानीय त्रसित एवं आतंकित छन्,’ उनले भनिन् ।

उनले तस्करी रोक्न निक्कै कडा कदम चाल्नुपर्ने बताइन् । ‘सबै पक्षको प्रयास हुँदाहुँदै पनि तस्करी रोक्न सम्भव भइरहेको छैन । अलि कडा रूपमा प्रस्तुत हुनुपर्ने देखिन्छ । नत्र आगामी दिनमा अरु पनि अपराधिक घटना हुन सक्छ,’ कुमारी भन्छिन् ।

प्रदेश प्रहरी प्रवक्ता दाहाल घटनामा संलग्नहरुको पहिचान खुलिसकेका कारण चाँडै पक्राउ पर्ने बताउँछन् । ‘खोजी तीव्र पारिएको छ । फेला परिहाल्छन् । एउटा पक्ष प्रहरीको सम्पर्कमा छ । अर्को पक्ष भागिरहेको छ । फेला परेपछि घटनाको यथार्थ पत्ता लाग्छ,’ उनले भने ।

एसएसपी दाहालले अपराधिक गतिविधि हुने सम्भावित र शंकास्पद स्थान तथा अपराधमा जोडिएका व्यक्तिहरु बसोबास गर्ने ठाउँको निगरानी प्रहरीले बढाएको बताए । ‘सीमा क्षेत्र हो । त्यहाँबाट तस्करी हुन्छ नै । राज्यका सबै संयन्त्र लागेर सम्भव भएसम्म रोक्ने प्रयास गरिरहेका छौं । सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । शंकास्पद व्यक्ति र अपराधिक गतिविधि हुने ठाउँमा निगरानी बढाइएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.