
काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्र प्रिशा साहको मृत्यु प्रकरणको विषयलाई लिएर सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।
सत्यतथ्य छानबिनका लागि भारतसँग संवाद अगाडि बढाउन सभामुख घिमिरेले रूलिङ गरेका हुन् । सांसदहरूले आकस्मिक समयमा रूलिङको माग गरेपछि सभामुखले सरकारलाई रूलिङ गरेका छन् ।
‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु’, घिमिरेले भने ।
शाहको मृत्युको विषयमा सांसदहरुले सभामुखको ध्यानाकर्षण गराएका थिए । सभामुख घिमिरेले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपिलसमेत गरेका छन् ।



















