धनकुटामा बस दुर्घटना : वृद्धाको मृत्यु, घाइते सबैको पहिचान खुल्यो

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १४:४६

विराटनगर । कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरु सबैको पहिचान खुलेको छ ।

दुर्घटनामा ७ जना पुरुष, ४ जना महिला र २ जना बालक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । ८ जनाको अवस्था मध्यम र २ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ ।

यात्रु बोकेर धरानबाट भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस आफैं अनियन्त्रित भएर सोमबार बिहान १० बजेतिर दुर्घटनामा परेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार बस सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनाको जानकारी पाउनसाथ पुगेको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेर घाइतेलाई उपचारका लागि पठाएको थियो । दुर्घटनामा परेर धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये भोजपुरको भोजपुर नगरपालिका–११ की ६० वर्षीया देवी विक, ५८ वर्षीय लीलाबहादुर श्रेष्ठ र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ६० वर्षीय हंशबहादुर राईको अवस्था गम्भीर रहेको डीएसपी खनालले बताए । उनका अनुसार गम्भीर घाइतेहरुलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ ।

घाइतेमध्ये भोजपुरको षडानन्द नगरपालिका–१३ का ११ वर्षीय अनमोल तामाङ, षडानन्द–११ की ५१ वर्षीया पूर्णमाया तामाङ, भोजपुर नगरपालिका–११ की २४ वर्षीया सविना बराईली र भोजपुरको पौवादुङमा गाउँपालिका–३ का ८० वर्षीय गंगाप्रसाद सापकोटाको अवस्था मध्यम छ ।

मध्यम अवस्थाका घाइतेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का ४८ वर्षीय कृष्ण राउत, बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, धनकुटा–६ का ३४ वर्षीय धनकुमार विक र साँगुरीगढी–६ की ६० वर्षीया दीर्घमाया राई रहेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का १७ वर्षीय आयुष राई र भोजपुरको षडानन्द–१३ का २० वर्षीय सूर्यमणि तामाङको अवस्था सामान्य छ ।

अधिकांश घाइतेहरुलाई धनकुटामा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

यद्यपि, ‘ब्रेक फेल’ भएर बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.