शिक्षक आन्दोलनको असर : भर्ना अभियान लम्बियो, १५ दिन पछि सर्याे पठनपाठन

Share this
754shares
मुलुकी खबर
इशु पन्त
clock२०८२ बैशाख २२, सोमबार १९:५७

विराटनगर । नेपाल शिक्षक महासंघको आन्दोलनका कारण मोरङका सामुदायिक विद्यालयहरूमा पठनपाठन १५ दिन पछि सरेको छ ।

आन्दोलनका कारण देशभरका विद्यालयहरूको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । पहिलो महिनामा छुटेको पढाई हिउँदे बिदाको छुट्टी कटौती गरी पुरा गर्ने योजना विद्यालयको छ ।

भर्ना अभियान लम्बियो

वार्षिक क्यालेन्डर अनुसार बैशाख १५ गतेसम्म सञ्चालन हुनुपर्ने भर्ना अभियान अब बैशाख २६ गतेसम्म चल्ने भएको छ ।

विराटनगर महानगरपालिका– ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार शिक्षक आन्दोलनका कारण यस्तो अवस्था आएको हो । उनले सोमबारबाट नियमित पठनपाठन सरु गरेको बताउँदै उनले भने,‘आन्दोलनका कारण पहिल्यै निर्धारित कार्यतालिका प्रभावित भएको छ ।’

हिउँदे बिदा कटौती हुने

विद्यालयहरूले आन्दोलनका कारण छुटेको पाठ्यक्रम पूरा गर्न हिउँदे बिदा कटौती गर्ने रणनीति अपनाएका छन् । गायत्री आधारभूत विद्यालयका प्रधानाध्यापक प्रदीप चापागाईंले बिदा कटौती गरेर पठनपाठन गराउने बताए । ‘हामीले मात्र होइन, देशभरिका सामुदायिक विद्यालयहरूले बिदा कटौती गरेर पढाउने योजना बनाएका छन्,’ चापागाईंले भने ।

मोरङका सामुदायिक विद्यालयहरूमा पनि सुरु भयो पठनपाठन मोरङका अधिकांश विद्यालयहरूले आज सोमबारदेखि पठनपाठन सुरु गरेका छन् ।

एसईई विद्यार्थीमा चिन्ता

आन्दोलनका कारण विशेषगरी एसईई दिने विद्यार्थीहरू चिन्तित देखिएका छन् । पोखरीयाको कक्षा १० मा अध्ययनरत विद्यार्थी पवन घिमिरेले विद्यालय बन्द रहँदा स्थानीय गुरुकुलमा ट्युसन पढिरहेको बताए ।‘स्कुल समयमा सुरु नभएपछि हामी आफै ट्युसन पढ्न थाल्यौं। एसईईको नतिजा बिग्रिने डर छ,’ घिमिरेले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.