प्रभावकारी बन्याे सुत्केरी पोषण कार्यक्रम

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार ०८:०४

सिरहा- सिरहाको लहान नगरपालिकाले सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । याे अभियान तीन वर्षअघि सुरु भएकाे थियाे ।

नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो ।

सोही अनुसार सोमबार वडा नं २२ का ४० जना गर्भवती तथा सात जना सुत्केरी गरी ४७ जनालाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेशप्रसाद चौधरीले पोषणका सामग्री वितरण गरे ।

स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएका प्रतिबद्धताअनुसार आफू नगरप्रमुख पदमा निर्वाचित भएदेखि भविष्यमा जन्मिने बच्चा स्वस्थ होस् भन्ने उद्देश्यले गर्भवती तथा सुत्केरीलाई कार्यक्रममार्फत पोषण वितरण सुरु गरिएको नगरप्रमुख चौधरीले बताए।

स्वास्थ्य संस्थामा नियमित जाँच गर्ने सुत्केरी तथा गर्भवतीलाई कार्यक्रममार्फत पोषण सामग्री वितरण गर्ने नीतिका कारण सुविधा पाएसँगै अहिले स्वस्थ्य संस्थामा नियमित जाँच गर्नेको सङ्ख्या बढ्दै गएको नगरपालिकाकी सिनियर अनमी रिता यादवले बताइन् ।

उनका अनुसार यस कार्यक्रममार्फत हालसम्म चार हजारभन्दा बढी सुत्केरी तथा गर्भवतीले सुविधा पाइसकेका छन् । कार्यक्रमअन्तर्गत चामल, दाल, नुन, तेल, चना, सोयाविनलगायत पौष्टिक आहार र खाद्यान्न सामग्री वितरण गर्ने गरिएको उनको भनाइ छ ।

नगरभित्र विपन्न तथा दलितको जनसङ्ख्या उल्लेख्य भएकाले यहाँका सुत्केरी तथा गर्भवतीको पोषणको अवस्था सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरप्रमुख चौधरीले बताए। पोषण सामग्री प्राप्त गरेसँगै गर्भवती तथा सुत्केरीले खुसी भएका उनले जानकारी दिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.