
विराटनगर । झापा भेटेरिनरी अस्पतालका कर्मचारीबीचमा कुटाकुट भएको छ । भद्रपुरस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कर्मचारीबीच कुटाकुट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
सोमबार दिउँसो कार्यालयमा सातौं तहका पशु चिकित्सक सुजन राईले सोही कार्यालयका पाँचौं तहका कर्मचारी रोहित महतमाथि ५ सय रुपैयाँको विवादपछि हातपात गरेका हुन् ।
उनीहरुका २ बीचको झगडाका क्रममा अर्का कर्मचारी घाइते भएका छन् ।
करिब २ मिनेट १० सेकेन्ड लामो भिडियो फुटेजमा राईले महतलाई धम्क्याउँदै औंला ठड्याएको र लगत्तै मुक्का प्रहार गरेको स्पष्ट देखिन्छ । झगडा छुट्ट्याउन खोज्दा चौथो तहका कर्मचारी दिवाकर सुनरैत घाइते भएका छन् ।
राईको हातबाट मार्तल खोस्न खोज्दा उनको टाउकोमा लागेको थियो । विवादको जड लिक्युड नाइट्रोजन र पशु वीर्य (सिमेन) को हिसाबकिताब हो ।
राईले सिमेनको ५ सय रुपैयाँ नदिएको विषयमा विवाद भएपछि कुटाकुट भएको हो ।























