
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीमाथि वडाध्यक्षलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।
ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडालाई गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको आरोप माझीमाथि लागेको हो । माझी गत उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
पालिका अध्यक्षको कार्यभार सम्हालेयता उनी अनेक विवादमा मुछिएका छन् । पछिल्लो समय वडाध्यक्षलाई धम्की दिएको विवादमा परे । ग्रामथान गाउँपालिकामा वडाहरूलाई दिने भुक्तानी रोकिएको विषयमा दबाब दिएको भन्दै खतिवडामाथि माझी निकट गयानन्द माझीले समेत ज्यान मार्ने धम्की दिएको आरोप छ ।
वडा कार्यालयमा भुक्तानी रोकिएको विषयमा वैशाख ३१ गते दबाब मूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमबाट फर्कने क्रममा नमोनारायण माझीका निकट गयानन्द माझीले ज्यान मार्ने धम्की दिएको आरोप छ ।
ग्रामथान–२ पिडारवनी स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा अध्यक्ष माझी आफैंले वडाध्यक्ष खतिवडालाई सार्वजनिक स्थलमा लागी गलौजसमेत गरेका थिए । खतिवडा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन् ।
उनले आफूलाई पालिका अध्यक्षले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको बताए । गाउँपालिका अध्यक्ष माझीसहित ४–५ जना कार्यक्रम हलमा प्रवेश गरेर ठेगान लगाउने धम्की दिएको उनको गुनासो छ ।
आफूविरुद्ध मुद्दा लगाएको तथा लेखा शाखाको काम अवरुद्ध गरेको र गाउँपालिकामा भएका सम्पूर्ण गतिविधिको प्रमुख योजनाकार बनेको आरोप लगाउँदै अध्यक्ष माझी र उनको समूहले ज्यान मार्ने धम्की दिएको खवितडा बताउँछन् । नेकपा (एमाले) मोरङले घटनाको विरोध गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष अजम्बर राईले शनिबार विज्ञप्ति जारी गर्दै माझीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् । साथै, एमालेले वडाध्यक्ष खतिवडाको जिउधनको सुरक्षा हुनुपर्ने मागसमेत गरेको छ ।
गाउँपालिका अध्यक्ष माझीले भने आफूले वडाध्यक्षलाई दुर्व्यवहार नगरेको दाबी गरे । ‘जनताको काम नगरेकाले २–४ शब्द भनियो होला । त्यसलाई गालीगलौज र दुर्व्यवहार गरेको तथा धम्की दिएको भन्न मिल्दैन । त्यो जनताको आक्रोश हो । काम नगरेका कारण जनता रिसाउनु स्वभाविक हो,’ उनले भने ।
वडाध्यक्ष खतिवडाले वडाध्यक्षको काम नगरेर पार्टीको अध्यक्षजस्तो भूमिका निर्वाह गरिरहेको माझीको आरोप छ । ‘वडाध्यक्षले जुन कर्तव्य निर्वाह गर्नुपर्ने हो । त्यो भइरहेको छैन । पार्टी अध्यक्षजस्तो हिसाबले चलेको देखिन्छ । त्यसैले जनता आक्रोशित छन् । कुनै दुर्व्यवहार गरेको छैन । धम्की दिएको पनि हैन,’ माझी भन्छन् ।

























