सरकारी कर्मचारीको ठगी धन्दाः २ सयभन्दा बढीबाट ७ करोड रुपैयाँ ठगेर बेपत्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ४, आइतबार ११:१५

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत कर्मचारीले झापा र सुनसरीका झण्डै २०० जनाभन्दा बढी व्यक्तिको ७ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लागेको छ । छैटौँ तहकी अधिकृत सस्मिता लुइँटेलले ठगी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको छ। फरार रहेकी उनको मोबाइल फोन समेत बन्द छ । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले झापामा कार्यरत रहँदा पनि लुइँटेलले धेरै व्यक्तिबाट लिएको सापटी पैसा नतिरेको उजुरी परेको जानकारी दिए ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर भट्टराईले सोनापुर, इटहरी निवासी लुइँटेल ६३ दिनदेखि कार्यालयमा अनुपस्थित रहेको बताए । उनले लुइँटेलले धेरै जनाको सापटी पैसा नतिरेको कुरा सत्य भएको बताए ।

लुइँटेल २०८१ भदौ ६ गते झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भइ इटहरी उपमहानगरपालिकामा कार्यरत थिइन् । काम गर्ने क्रममा उनले घर व्यवहारका नाममा जनप्रतिनिधि, स्वास्थ्य शाखा तथा अन्य कर्मचारीहरूसँग व्यक्तिगत रूपमा १ लाखदेखि २४ लाख रुपैयाँसम्म सापटी लिएको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीमा ४० जनाभन्दा बढीले लुइँटेलविरुद्ध २ करोडभन्दा बढी रकम लगेर नतिरेको उजुरी दिएका छन् । विकास पौडेल, बिपिन भट्टराई र मोहन दङ्गालले इलाका प्रहरी कार्यालय इटहरीमा उनीविरुद्ध जाहेरी दर्ता गराएका हुन् । पीडितहरूले पटकपटक रकम फिर्ता माग्दा पनि नपाएको र उनी सम्पर्कविहीन बनेको आरोप लगाएका छन् ।

जनताको सेवा गर्ने जिम्मेवारी पाएको कर्मचारीले व्यक्तिगत पहुँच, सरकारी पद र विश्वासको दुरुपयोग गर्दै लाखौं रुपैयाँ असुली गरेको पाइएको छ । सर्वसाधारणसँग रकम असुलेर सस्मिता फरार भएपछि दर्जनौं पीडितहरू न्यायको खोजीमा इटहरी उपमहानगरपालिका र प्रहरी कार्यालय धाइरहेका छन् ।

सर्वसाधारणलाई विश्वासघात गर्दै सस्मिताले छोटो समयमै लाखौं रकम ठगी गरेको तथ्यहरुबाट पुष्टि हुन्छ । सस्मिताबाट ठगिएका पीडितहरूको सूची निककै लामो छ । उनले बुनेको ठगीको जालोमा सरकारी कर्मचारी, सहकर्मी, इटहरीका व्यवसायी र सर्वसाधारणसम्म परेका छन् ।

सस्मितालाई विश्वास गर्नेहरु प्रायः ठगिएका छन् । कतिपयलाई व्यवसायमा लगानी गरिदिने प्रलोभनमा पारेकी थिइन् । उनका निशानामा खासगरी घर निर्माण तयारीमा रहेका सर्वसाधारण, व्यवसायी र आफ्नै सहकर्मी कर्मचारीसमेत परेको देखिन्छ ।

स्वास्थ्य चौकी खनारमा कार्यरत विकास पौडेलसँग उनले ४ लाख ५० हजार लिइन् । विकासको विश्वास जित्न तत्काल चेक दिइन् । तर खातामा पैसा नभएपछि चेक ‘बाउन्स’ भयो ।

अनेक बहाना बनाएर विकाससँग राम्रै रकम फुत्काएकी सस्मिताको खातामा पैसा छैन । चेकमा उल्लेख भए अनुसारको पैसा नभएपछि उनी पनि सर्वसाधारणजस्तै पीडामा परेका छन् । सस्मिताबाट ठगिएको भनेर अहिले कानुनी उपचारका लागि प्रहरी कार्यालय धाइरहेका पीडितमध्येका विकास पनि एक हुन् । न्यायका लागि प्रहरी र अदालतको ढोका ढकढक्याइरहेका छन् ।

स्रोतका अनुसार सस्मिताले कार्यालयमा नम्र व्यवहार, फिल्ड भ्रमणमा सक्रियता र सहकर्मीसँग सुमधुर सम्बन्ध बनाउँदै विश्वास जित्ने काम गरिन् । ‘बिरामी परेको नाटक र आपत परेको अभिनय गर्ने तथा नाफाको सपना देखाउँदै साझेदार बनाउनेजस्ता आश्वासन बाँडेर पैसा बटुल्थिन्, सस्मितालाई नजिकबाट चिन्नेहरु भन्छन्’ ।

विशेषतः घर बनाउँदै गरेका सर्वसाधारण, ऋण खोज्दै गरेका व्यवसायी र सरकारी कर्मचारीहरू निशानामा परेकाले पनि यसको पुष्टि हुन्छ । कतिपयलाई अरूको नामको र कतिलाई आफनै नामको चेक दिइन् । तर, सबै चेक बाउन्स भएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर उनी इटहरी उपमहानगरपालिकामा आइन् । त्यसपछि इटहरी–१७ र २० का वडामा सचिवको जिम्मेवारी सम्हाल्ने मौका पाइन् । तर, पैसा लगेर फिर्ता नगर्ने गरेको गुनासो बढेपछि फागुन २० गते उनलाई वडा सचिवबाट हटाएर उपमहानगरपालिकामा तानिएको थियो ।

सामान्य हैन यो प्रकरण
सस्मिताको ठगी एउटा सामान्य आर्थिक अपराध होइन । पदकै दुरुपयोग गरेर सर्वसाधारणमाथि ठगी गरेको यो प्रकरणले सरकारी कर्मचारीमाथि पनि अविश्वास पैदा गराएको छ । ‘सरकारी पदको दुरुपयोग गरेर जनताको पैसा ठग्नु सामान्य हैन । ठूलै आर्थिक अपराध हो,’ एक प्रहरी अधिकारी भन्छन् ।

कतिपयले यो घटनालाई एउटा सचिवको ठगी धन्दाका रूपमा मात्रै लिएका छैनन् । इटहरी उपमहानगरको प्रतिष्ठासँग जोडेर हेर्न थालेका छन् । उपमहानगरको प्रतिष्ठामा एउटा कर्मचारीले गम्भीर धब्बा लगाइदिएको कतिपयको बुझाइ छ । सरोकारवालाहरु सरकारी जागिरको खोल ओढेर गरिएको ठगीमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने र पीडितले पैसा फिर्ताका साथै न्याय पाउनुपर्ने बताउँछन् ।

विश्वासमा धोका
एक निजामती कर्मचारीले आफ्नो पद र पहुँचको गलत प्रयोग गरी सर्वसाधारणलाई आर्थिक मारमा पारेको घटनाले सबैलाई झस्काएको छ । सरकारी सेवाको विश्वासमा परेका सर्वसाधारणहरु एउटा कर्मचारीबाट नराम्ररी ठगिएका छन् । विश्वासमा परेर फसेकाहरुको व्यवहार नै चौपट हुने अवस्था बनेको छ ।

सरकारी कर्मचारीमाथि विश्वास गरेका सर्वसाधारण आफूहरुमाथि धोका भएपछि अहिले न्यायको प्रतीक्षामा छन् । यो घटनाले कर्मचारी प्रशासनको समेत बदनाम गरेको कतिपयको बुझाइ छ । सरोकारवालाहरु अब अदालत, प्रहरी र सम्बन्धित निकायले पीडितको आवाजलाई कति गम्भीरताका साथ लिन्छन् र कसरी पीडितले न्याय पाउँछन् तथा पीडकलाई कस्तो कारबाही हुन्छ ? भनेर पर्खनुको विकल्प नहुने बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.