
विराटनगर । मानगढ खानेपानी आयोजनाको व्यवस्थापन गरिरहेको विराट खानेपानी उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार ९६४ मत खसेको छ । संस्थामा ५ हजार ९८८ मतदाता थिए । २ हजार २४ जना मतदानमा सहभागी भएनन् ।
उच्च अदालत विराटनगरको आदेशपछि दोस्रो पटक शनिबार बिहान सवा ७ बजेबाट मतदान सुरु भएको थियो । बेलुका ५ बजेसम्म ३ हजार ९६४ मत खसेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार उम्मेदवारका प्रतिनिधिसँगको छलफलपछि मतगणना सुरु हुनेछ । मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि २०८१ जेठ १९ मा मतदान भएको थियो ।
निर्वाचन विवादित भएपछि मुद्दा अदालतमा पुगेको थियो । उच्च अदालत विराटनगरले पुन मतदान गर्नुपर्ने आदेश दिएकाे थियाे ।
नयाँ नेतृत्वका लागि लालमणि भट्टराई, रामबहादुर घिमिरे र दुर्गा चापागाईंको प्यानल चुनावी मैदानमा छ ।
भट्टराई र घिमिरे नेकपा एमालेका उम्मेदवार हुन् । चापागाईं नेपाली कांग्रेसको उम्मेदवार हुन् । भट्टराईलाई एमालेको विनोद ढकाल समूहले अघि सारेको हो । घिमिरे एमाले संस्थापन पक्षको उम्मेदवार हुन् । उनलाई माओवादी केन्द्रका केही नेताले सहयोग गरेका छन् ।
























