
काठमाडौं । भेरी नदीमा पौडी खेल्न गएका २ जना बालबालिकाको मृत्यु भएको छ । १ जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिका–८ मा पौडी खेल्ने क्रममा आज (शुक्रबार) दिउँसो ३ जना बालबालिका बेपत्ता भएका थिए ।
तीमध्ये दुई जनाको ज्यान गएको र १ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका–८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी छन् ।
सुरेन्द्रकी १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ । भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए । उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए ।























