कीर्तिमानी जितबाट चुक्यो नेपाल, स्कटल्याण्ड २ रनले विजयी

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार ०६:२८

विराटनगर । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसँग २ रनले पराजित भएको छ । स्कटल्याण्डले दिएको ३२४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो ।

कीर्तिमानी जितमा २ रनले चुकेको नेपालका लागि भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए ।

बलियो लक्ष्य पछ्याउँदा नेपालको १८३ रनमा ६ विकेट गुमेपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले मिलेर सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै सम्भावित शानदार जितको नजिक पुर्‍याएका थिए । तर दिपेन्द्र ४७औं तथा सोमपाल ४८औं ओभरमा आउट भएपछि करण केसी र सन्दीप लामिछाने माथि जिम्मेवारी आएको थियो ।

अन्तिम ओभरमा नेपाललाई ७ रन आवश्यक छँदा करण केसी आउट भए । त्यसपछि नेपाललाई ३ बलमा ५ रन आवश्यक भयो । ललित राजवंशीले ब्याटबाट मिस गरेपनि बाइको रन लिँदा सन्दीप स्ट्राइकमा आएका थिए । उनले पनि १ रन लिए । नेपाललाई अन्तिम बलमा ३ रन आवश्यक थियो । अन्तिम बलमा ललित बोल्ड आउट भएपछि नेपाल पराजित भयो ।

नेपालले ३०० भन्दा माथिको लक्ष्य हालसम्म पूरा गर्न सकेको थिएन । स्कटल्याण्डसँग गत साता भएको खेलमा २९७ रनको लक्ष्य पूरा गर्दै कीर्तमान बनाएको नेपाललाई त्यो कीर्तिमान तोड्ने अवसर थियो । तर सम्भव भएन् ।

नेपालका भीम सार्कीले सर्वाधिक ७३ रन बनाउँदा सोमपालले ६७ र दिपेन्द्रले ५६ रन बनाए । स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिँदा ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट लिए ।

त्यसअघि कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बलियो योगफल खडा गरेको थियो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

लिग २ मा १५ खेल खेलेको नेपाल १० अंक छ । स्कटल्याण्डको १७ खेलबाट २२ अंक छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.