
विराटनगर । १७ वर्षअघि बनाइएको ट्यांकीका संरचना जीर्ण बन्दै गएका छन् । पाइपलाइनहरु क्षतिग्रस्त छन् । योजनाबाट लक्ष्य राखिएअनुसार खानेपानी वितरण हुन सकेको छैन ।
यस्तो अवस्थामा विराटनगर महानगरपालिका–१४ जतुवामा रहेको योजनाको उद्घाटन गरिएको छ । २०६५ सालमा निर्माण भएको खानेपानी ट्यांकी आज (बुधबार) संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरेका हुन् ।
‘जतुवा खानेपानी तथा सरसफाई आयोजनाको स्वामित्व हस्तान्त्रण गरी लिइ नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरले सञ्चालन गर्ने सेवा प्रणालीको उद्घाटन’ भन्ने लेखेर बनाइएको ठूलो ब्यानर राखेर मन्त्री यादवले उद्घाटन गरे । कार्यक्रममा मन्त्री यादवले नागरिकलाई स्वच्छ खानेपानी वितरण गर्ने सरकारको लक्ष्य रहेको बताए ।
जतुवामा रहेको लक्ष्मीनारायण मन्दिर परिसरमा २०६५ मा करिब साढे ४ करोड लागतमा ट्यांकी बनाइएको थियो । बनाउन त बनाइयो तर प्रयोगमा ल्याइएन ।

लामो समय प्रयोगमा नआउँदा संरचना कमजोर भइसकेको स्थानीय बासिन्दाले बताएका छन् । पूरा नै नभएको योजना उद्घाटन भएपछि खानेपानी संस्थानले पाइपलाइन मर्मत गरी आयोजना सञ्चालन गर्ने खानेपानी कार्यालय विराटनगरका प्रमुख सन्तोष रौनियारको भनाइ छ ।
विराटनगर महानगरपालिका–८, १०, १३ र १४ कामा खानेपानी पुर्याउनका लागि उक्त ट्यांकी बनाइएको थियो । त्यस क्रममा २७ किलोमिटर क्षेत्रमा पाइपलाइन बिच्छाइएको थियो । योजना सञ्चालन नै नभएपछि पाइपलाइन पनि प्रयोगमा आएन । सडक विस्तार र मर्मतका क्रममा बरु क्षतिग्रस्त बनेका छन् ।
खानेपानी आयोजनाले दैनिक १७ लाख लिटर पानी उत्पादन गरी ६ हजार नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउने लक्ष्य लिएको जनाइएको छ ।
ट्रयांकीबाट विराटनगरका वडा ८, १४, १०, १३ का वासिन्दालाई प्रतिव्यक्ति दैनिक १ सय २५ लिटर स्वच्छ खानेपानी उपलव्ध गराउने संस्थानका रौनियारले जानकारी दिए ।























