राष्ट्रिय हितका पक्षमा सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २८, बुधबार १७:४८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय सुरक्षा र हितका पक्षमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

नेपाली सेनाका हाइकमान्डेड, म्यानेजमेन्ट कोर्सको तालिम लिइरहेका उच्च पदस्थ सैनिक अधिकृतसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) अन्तरक्रिया गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय हितका पक्षमा सबै एकजुट भए विकास छिटो हुने र सुरक्षा चुनौती पनि कम हुने उनले उल्लेख गरे । विकास र सुरक्षा सँगसँगै लैजान सके समृद्धि हासिल गर्न सकिने बताउँदै मुख्यमन्त्री कार्कीले विकास र सुरक्षालाई समन्वयका आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना भएपछि विकासका काम उल्लेख्य भएको चर्चा गरे ।

प्रदेशले अरु तहका सरकारभन्दा बढी काम गरेको र त्यो क्षमता‌ बढाउँदै लगेको उल्लेख गरे । कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष, पदमार्ग निर्माण र कृषिका नयाँ खाले कार्यक्रमले प्रदेशमा समृद्धि हासिल हुने चर्चा गर्दै यसले राष्ट्रिय पुँजीको विकास गर्ने बताए ।

लगानी सम्मेलन जस्तो महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेर देशकै ध्यान कोशीमा आकर्षित गरेको बताउँदै उहाँले आगामी वर्ष चियाको प्रवर्द्धन गर्नका लागि चिया सम्मेलन गर्ने जानकारी दिए ।

नेपाली सेनाले आयोजना गर्ने सबैभन्दा माथिल्लो तहको तालिम लिइरहेका उच्च पदस्थ सैनिक अधिकारीहरु अन्तरक्रिया कार्यक्रममा सहभागी थिए ।

उनीहरुले प्रदेशको सुरक्षा चुनौती, संघीयता कार्यान्वयन,विकास निर्माण र अन्य विविध विषयमा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा नेपाली सैनिक वार कलेज का उपरथी सन्तोष बल्लभ पौडेलले तालिम र यसका विविध गतिविधिबारे जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.