उद्योग संगठन मोरङको ५२ औं वार्षिक साधारण, नयाँ समितिका लागि निर्वाचन हुँदै 

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार २०:०९

विराटनगर । उद्योग संगठन मोरङको ५२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार विराटनगरमा साधारण सभा सम्पन्न भएको हो । नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया शनिबारबाट सुरु हुनेछ ।

साधारण सभाको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले विद्युत् क्षेत्रमा देखिएको समस्या समाधानका लागि तत्काल विद्युत् प्राधिकरणको प्रदेश कार्यालयले काम गर्नुपर्ने बताए ।

विद्युत् अनियमित हुँदा निजी क्षेत्रले लाखौं रुपैयाँ नोक्सानी ब्यहोरिरहेको अवस्थामा सरकार गम्भीर भएर समाधानको बाटो खोज्नुपर्ने बताए ।

अध्यक्ष राकेश सुरानाले आर्थिक एवं औद्योगिक विकासका सवालमा निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरूले प्राथमिकता नपाएको बताए । संगठनले तथ्य र तथ्यांकमा आधारित रहेर नीति निर्माणको क्षेत्रमा सरकारको ध्यानाकर्षण गर्न सफल भएको बताए ।

‘उत्पादनमूलक उद्योगहरूको प्रतिनिधित्व गरी पृथक र परिणाममुखी कार्यहरू गर्दै निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने संस्थाहरू मध्ये राष्ट्रिय स्तरमा आफ्नो अलग्गै पहिचान बनाउन सफल उद्योग संगठन मोरङले आफूलाई निजी क्षेत्रको हकहितका सवालमा सशक्त आवाज उठाउने कर्पोरेट क्षेत्रको व्यावसायिक संस्थाका रूपमा उभ्याउन सफल भएको छ,’ उनले भने, ‘हामीले उद्योग व्यवसाय क्षेत्रको दीर्घकालीन हितलाई ध्यानमा राखी समग्र अर्थतन्त्रको विकास र बिस्तारमा संगठनको गतिविधि र क्रियाकलापलाई केन्द्रित गरेका छौँ ।’

औद्योगिक विकासमा बाधकका रूपमा देखिएको ऊर्जा समस्या, नीतिगत अस्थिरता, पूर्वाधार विकास, प्रक्रियागत जटिलता, दक्ष जनशक्तिको अभावका साथै अन्य समस्यालाई समेत दृष्टिगत गरी सोही आधारमा कार्यक्रमहरू सञ्चालन गरेका विषयहरूमा राज्यको ध्यानाकर्षण भई सम्बोधन भएको अध्यक्ष सुरानाले प्रस्ट्याए ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

संगठनको नयाँ कार्य समितिका लागि भोलि हुने निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी प्रमुख दाबेदार रहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.