
काठमाडौं । साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपालीसहित आप्रवासी श्रमिकले अझै पनि श्रम शोषण र असुरक्षित कार्यस्थितिको सामना गरिरहेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अमेजनले श्रमिकको भर्ना प्रक्रिया, आवास र गुनासो सुनुवाइ प्रणालीमा सुधार गरे पनि तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत कामदार नियुक्त गर्ने प्रणालीका कारण उनीहरू अझै शोषणको जोखिममा छन् ।
‘साउदी अरबमा अमेजनः आप्रवासी श्रमिक किन अझै शोषणको जोखिममा छन्’ शीर्षकको प्रतिवेदनमा श्रमिकलाई रोजगारदाता कम्पनीले जुनसुकै बेला कामबाट हटाउन सक्ने र त्यसपछि उनीहरू लामो समयसम्म बेरोजगार तथा आयविहीन हुनुपर्ने अवस्था रहेको उल्लेख छ ।
एम्नेस्टीले सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म गरेको अध्ययनका क्रममा नेपाल र भारतका २४ जना आप्रवासी श्रमिकसँग अन्तर्वार्ता गरेको थियो । उनीहरू रियादस्थित अमेजनको एउटा गोदाममा तीनवटा श्रमिक आपूर्ति कम्पनीमार्फत कार्यरत थिए वा हालै काम छाडेका थिए ।
प्रतिवेदनअनुसार धेरै श्रमिकलाई सुरुमा अमेजनमै दुई वर्षको करारमा प्रत्यक्ष रोजगारी दिने आश्वासन दिइएको थियो । तर, साउदी अरब जानुअघि मात्रै आफूहरू तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत नियुक्त हुने जानकारी पाएको उनीहरूले बताएका छन् ।
अमेजनमा काम गर्ने अवधि जुनसुकै बेला समाप्त हुन सक्ने भएकाले श्रमिक असुरक्षित अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ । कामबाट हटाइएपछि पनि उनीहरूको भिसा श्रमिक आपूर्ति कम्पनीकै प्रायोजनमा रहने हुँदा अन्यत्र काम गर्न वा स्वदेश फर्किन कठिन हुने गरेको पाइएको छ ।
नेपालका प्रकाश नाम गरेका एक श्रमिकले अमेजनले आफूहरूलाई जुनसुकै बेला कामबाट निकाल्न सक्ने भएकाले अस्थायी कामदारका रूपमा काम गरिरहेको बताएका छन् ।
अमेजनबाट हटाइएपछि अर्को काम नपाएर केही श्रमिक हप्तौँदेखि महिनौँसम्म बेरोजगार बस्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा श्रमिक आपूर्ति कम्पनीले तलब नदिँदा कतिपयले ऋण लिनुपर्ने वा साथीहरूको सहयोगमा गुजारा चलाउनुपर्ने अवस्था आएको छ । एक श्रमिकले अमेजनबाट हटाइएपछि भारत फर्किने प्रतीक्षामा तीन महिनासम्म तलब नपाउँदा खानासमेत साथीहरूको सहयोगमा जुटाउनुपरेको बताएका छन् ।
प्रतिवेदनमा बिदा स्वीकृत गराएपछि पनि कामबाट हटाइएको र स्वदेश फर्किन आवश्यक एक्जिट भिसाको प्रक्रिया अघि बढाउन श्रमिक आपूर्ति कम्पनीले दुई महिनाको तलबबराबर रकम मागेको घटनासमेत उल्लेख छ । एम्नेस्टीका अनुसार अमेजनका गोदाममा काम गर्ने श्रमिकले उत्पादन लक्ष्य पूरा गर्न तीव्र दबाब, निरन्तर निगरानी र लक्ष्य पूरा गर्न नसके जागिरबाट निकाल्ने धम्कीसमेत सामना गरिरहेका छन् ।
श्रमिकले कम्पनीको गुनासो सुनुवाइ प्रणाली प्रयोग गर्न सक्ने भए पनि उजुरी गरेकै कारण श्रमिक आपूर्ति कम्पनीबाट प्रतिशोध हुन सक्ने डरले धेरैले गुनासो गर्न हिचकिचाउने गरेको प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२३ मा एम्नेस्टीले गरेको अनुसन्धानपछि अमेजनले साउदी अरबका एक हजार १८० श्रमिकलाई गैरकानुनी भर्ना शुल्कबापत २४ लाख ५० हजार अमेरिकी डलरभन्दा बढी रकम फिर्ता गरेको थियो । साथै, श्रमिकको आवास र गुनासो सुनुवाइ प्रणालीमा पनि सुधार गरिएको थियो ।
अमेजनले श्रमिक आपूर्ति कम्पनीमाथिको निगरानी बढाएको, नियमित लेखापरीक्षण गर्ने गरेको र कामदारलाई तलब तथा अन्य सुविधा उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ । कामबाट हटाइएका श्रमिकलाई अर्को रोजगारी खोज्न सहयोग गर्ने, रोजगारदाता परिवर्तनको प्रक्रिया अघि बढाउने र सम्भव नभए स्वदेश फर्किने खर्च व्यहोर्ने व्यवस्था गरेको पनि कम्पनीको भनाइ छ ।

























