भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १२:१७

विराटनगर । नेपालतर्फ प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबार र ओसारपसारमा भारतीयका परिवार नै संलग्न रहेको खुलेको छ । भारतबाट नेपालतर्फ लागुऔषध ल्याएर बिक्री वितरण गर्ने धन्दामा संलग्न रहेको आरोपमा बाबु, आमा र छोरालाई मोरङको रंगेलीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार प्रान्त, अररिया जिल्ला, बोका मोजदार–२ मुस्लिम टोलका ४५ वर्षीय रघुनाथ पासवान, उनकी ४० वर्षीया श्रीमती सकुन्तला पासवान र १८ वर्षीय छोरा करण पासवान छन् । उनीहरूलाई सोमबार साँझ रंगेली नगरपालिका–४ स्थित चोप्राहा बोर्डरबाट पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रंगेली र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । तीनै जना भारतबाट नेपालतर्फ पैदल आउँदै थिए । उनीहरूको गतिविधि शंकास्पद लागेपछि प्रहरीले निगरानी र चेकजाँच गरेको थियो । त्यसक्रममा सकुन्तला पासवानले आफ्नो दाहिने हातको मुठ्ठीभित्र कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा लागुऔषध खैरो हेरोइन फेला परेको थियो ।

डीएसपी श्रेष्ठले पासवानको साथबाट २९ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको जानकारी दिए । लागुऔषधसहित सकुन्तला र उनका छोरालाई तत्काल प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि रघुनाथ भाग्न खोजेका थिए । भाग्दै गर्दा प्रहरीले उनलाई लखेटेर पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू नेपालतर्फ लागुऔषध आपूर्ति (सप्लाई) गर्ने योजनाबद्ध धन्दामा संलग्न रहेको खुलेको छ । उनीहरूले लामो समयदेखि भारतबाट लागुऔषध नेपालतर्फ ‘सप्लाई’ गर्दै आएको प्रहरीले पत्ता लगाएको छ ।

प्रहरीका अनुसार उनीहरूको नेपाल प्रवेश गर्ने तरिका पनि योजनाबद्ध देखिन्छ । सुरुमा रघुनाथ नेपालतर्फ आएर सीमा क्षेत्रको अवस्था र सुरक्षाकर्मीको गतिविधि नियाल्दै भारत फर्किएका थिए । सीमा क्षेत्रमा सुरक्षाकर्मीको तत्कालीन ‘मुभमेन्ट’ नरहेको यकिन गरेपछि उनले श्रीमती र छोरालाई लागुऔषधसहित नेपालतर्फ पठाएको प्रहरीको भनाइ छ ।

आमा र छोरा लागुऔषध लिएर नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । आमा र छोरासँगै रघुनाथ पनि पछि–पछि नेपालतर्फ आउँदै थिए । तर, दुवै जना पक्राउ परेपछि भाग्न खोजेका पनि पनि पक्राउ परे ।

यो घटनाले सीमावर्ती क्षेत्रबाट लागुऔषध ओसारपसार र कारोबार कसरी भइरहेको छ भन्ने प्रष्ट पार्छ । लागुऔषधको कारोबारमा एक व्यक्तिमात्र नभई परिवारका सदस्यसमेत परिचालन हुने गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई छल्न परिवारकै सदस्यलाई फरक–फरक भूमिकामा परिचालन गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

नेपालमा लागुऔषधको प्रयोग र कारोबारले गम्भीर सामाजिक समस्या निम्त्याइरहेका बेला सीमापारिबाटै यसको आपूर्ति भइरहेको विषय थप चुनौतीपूर्ण बनेको छ । लागुऔषधको जालोले नेपाली समाजका युवा पुस्तालाई नराम्ररी प्रभावित पारिरहेको छ । प्रयोगकर्ताको संख्या बढ्नुमा आन्तरिक कारोबार र आपूर्ति सञ्जालसँगै खुला सीमाबाट हुने अवैध ओसारपसार पनि एउटा चुनौतीका रूपमा देखिएको प्रहरी अधिकारीहरु बताउँछन् ।

भारतबाट नेपालतर्फ लागुऔषध ल्याउने र नेपाली बजारमा पुर्‍याउने सञ्जाल पहिचान गर्नु प्रहरीका लागि चुनौतीपूर्ण छ । सीमामा हुने नियमित निगरानीसँगै शंकास्पद गतिविधिमाथि सूचना संकलन, आपूर्तिकर्ताको पहिचान र कारोबारबाट लाभ लिने मुख्य व्यक्तिसम्म अनुसन्धान पुर्‍याउनु आवश्यक रहेको प्रहरी अधिकारीहरुको भनाइ छ ।

रंगेलीमा बाबु, आमा र छोरा पक्राउ परेको घटनाले लागुऔषध नियन्त्रणलाई सीमामा हुने बरामदमा सीमित राखेर नपुग्ने संकेत गरेको छ । पक्राउ परेका तीनै जनालाई बरामद लागुऔषधसहित इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन इन्स्पेक्टर अशोककुमार झा नेतृत्वको टोली थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.