अब परीक्षणपछि मात्रै उपभोक्तासम्म मासु

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १०:४८

काठमाडौं । काठमाडौं उपत्यकामा पशुको स्वास्थ्य र मासुको गुणस्तर परीक्षण गरेर खान योग्य प्रमाणित भएको मासु मात्रै बिक्री वितरण गर्न थालिएको छ । ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएसँगै मंसिर १ गतेदेखि सरकारी छापसहितको मासु बजारमा पठाउन सुरु गरिएको हो ।

सरकारले गत भदौ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै ऐनलाई तीन चरणमा कार्यान्वयन गर्ने घोषणा गरेको थियो। पहिलो चरणमा मंसिर १ गतेदेखि काठमाडौं उपत्यकामा ऐन लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार उपत्यकाका वधशाला तथा वधस्थलमा स्वस्थ पशु मात्रै वध गर्न पाइने छ । वधपछि परीक्षण गरी खान योग्य प्रमाणित भएको मासुमा अंग्रेजीमा ‘इन्स्पेक्टेड’ र नेपालीमा ‘योग्य’ लेखिएको सरकारी छाप लगाइनेछ । छाप लागेको मासु मात्रै पसलबाट बिक्री गर्न पाइनेछ ।

अब पशु वध गर्नुअघि र वध गरिसकेपछि दुवै चरणमा परीक्षण हुनेछ । वधअघि पशुको स्वास्थ्य जाँच गरी स्वस्थ पाइए मात्रै वधको अनुमति दिइनेछ। त्यसपछि तयार भएको मासु पनि निरीक्षकले परीक्षण गर्नेछन् । खान योग्य ठहरिएपछि सरकारी अधिकारीले मासुको सबै भागमा छाप लगाउने व्यवस्था गरिएको छ ।

सरकारले तोकेका मासु निरीक्षक हरेक दिन बिहान ४ बजे नै वधशाला पुग्नेछन् । वधका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गरी स्वस्थ पाइए मात्रै वधको स्वीकृति दिनेछन् । वधपछि तयार भएको मासु निरीक्षकले पुनः जाँच गर्नेछन्। परीक्षणमा स्वास्थ्यकर र खान योग्य ठहरिएको मासुमा सरकारी छाप लगाइनेछ । छाप मासुको सबै भागमा पर्ने गरी लगाउनुपर्ने व्यवस्था छ । पशु सेवा विभागले यो अभ्यासलाई क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.