सत्ता गठबन्धनसँगको सहमतिमा अग्नि सापकोटाकाे विषय जोडिँदैन : प्रचण्ड

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३१, शनिबार १०:३४

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँग पार्टी उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सो सहमतिलाई लिएर फैलिएको भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै भने, ‘यो बिलकुलै गलत र आधारहीन प्रचार हो। अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द्रले सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र एमालेसँग २ बुँदे सहमति गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ।

यस विषयमा नागरिक र कार्यकर्ताले असन्तुष्टि जनाइरहेको पत्रकारको प्रश्नमा अध्यक्ष दाहालले जवाफ दिए, ‘नबुझेर असन्तुष्टि जनाइएको हो, बुझिएपछि सबै खुसी हुन्छन्। निर्णय सही छ भन्ने महसुस गर्छन्।’

उनले देश र जनताको हितमा आवश्यक परे सहमति, विरोध र विद्रोह सबै विकल्प खुला रहेको उल्लेख गर्दै पछिल्लो समयको राजनीतिक सहमति, संसद् अवरोध, शिक्षा ऐन र संघीय निजामती ऐनलगायतका विषयमा आफ्नो धारणा प्रस्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.