
भित्तामा टाँसिएको पुरानो पत्रिका, जसको अक्षरहरू तेलको छिटा र धुवाँले हराउँदै गएका छन् । पत्रिकाजस्तै युवराजको जीवन पनि धुमिल हुँदैछ । आशाका रंगहरू हराउँदै, यथार्थका कालो धागोमा अल्झिँदै ।
ऊ रेलिङको एउटा कुनामा उभिन्छ र चुरोटको एक सर्काे पहिलो स्वाससँगै गहिरो पिर निलेझैँ गर्छ । युवराज गाउँबाट जे सपना देखेर शहर पसेका थिए त्यो कहिल्यै पुरा भएन । अधुरा सपनाहरुलाई चुराटको धुवाँको घुम्टोमा बेरी आकाशतिर उडाउँछ ।
लामो सुस्केर हाल्दै मोबाइलको स्किन स्क्रोल गर्न थाल्छ । आफैँलाई बिर्सन या अरु कोहीमा आफू खोज्न ?
घरबेटीको फोनको घण्टी सँगै उनको मौनता पनि भंग हुन्छ ।
‘केही समय कुर्नु न है, अफिसले तलब नहालिदिएर गोजी र जिन्दगी नै शून्य छ ।’
मन्द हाँसो पुनः उही मौनताको गहिराइमा डुबुल्की मार्न पुग्छ ।
भाडा कहिले तिर्ने ?
घरबेटीको प्रश्न उसका कानमा संगीतजस्तै दोहोरिन्छ । तर त्यहाँ कुनै सुर छैन, सान्त्वना छैन ।
यसै मनमा बजेको अशान्तिको धुनले बरु भित्रभित्र खाइरहेको छ ।
चुलोमा तेल, मसला नमिलेको तरकारीको रस उम्लिरहेको छ । आफ्नै जिन्दगी जस्तो ! कराइको ढक्कन हल्लिन्छ, भुक्लुक, भुक्लुक आवाज आउँछ ।
त्यस्तै आवाजले उसलाई पुनः ब्यूँझाउँछ । हिजोका सबै सपना, आजका सबै तनाव फेरि जाग्छन् ।
पत्रकारिताको जागिर छ । तर स्थायित्व छैन, तलब पनि कहिले आउँछ, कहिले बिलाउँछ ।
मनमा खेलेका अनेकथरि कुराहरुले निसास्सिएझैँ अतालिएर उही रेलिङमा स्वास हराएझैँ उभिरहन्छ । अचेल युवराजको दिन र रातहरु यसैगरी बितिरहेका छन् ।
कहिलेकाहीँ साथीहरूका कुराले झनै पोल्छ ।
‘ओइ, फलाना दाइले त तेरै जस्तो पेसा गरेर गाडी किने रे, घर बनायो रे ।’
कोही हाँस्दै भन्छ–
‘तँचाहिँ जहिल्यै गोजी रित्तो ?’
युवराज फिस्स मुस्कुराउँछ, चुपचाप सुस्केरा फाल्छ । चियाको चुस्कीसँगै तितो यथार्थलाई एक घुड्कीमा निल्छ ।
लाजै पचाएर भनौँ या आत्मसम्मान जोगाउन, मधुर आवाजमा युवाराज स्पष्टीकरण दिँदै भन्छ, ‘मेरो पीआर छ, माग्न सक्दिन यार ।’
फेरि चुरोटको एक गहिरो सर्काे तान्छ । धुँवाजस्तै सपना पनि बिस्तारै माथि उड्छन् ।
तर, त्यसको गन्तव्य छैन, बस आकाशतिर हराउँछ ।
गहिरिएर सोच्न थाल्छ, ठेक्दार, सत्ताको मात केहीले छोएन । स्वाभिमानले भोको पेट भर्दैन भन्थे हो कि क्या हो ?
प्रश्नले कैद गरेको उनको मानसपटलमा उत्तर भेट्नै सकस महसुस गर्छ ।
निकै पुरानो पुस्तक कुनातिर अलपत्र देख्छ आफूजस्तै । टिप्छ । पल्टाउँदै जान्छ । अनि हरिभक्त कटुवालको एउटा चर्चित कवितामा अडिन्छ । जतिजति कविताको लाइन छिचोल्दै जान्छ, कटुवालले आफ्नै लागि लेखिदिएको जस्तो अनुभव गर्छ-
यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी आँखा उघार्न पनि जगजगी
यो जिन्दगी खै के जिन्दगी
पसलमा सोकेशभित्र सजाएरराखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी!!
कहिलेकाहीँ उनलाई चिया मात्र उस्तै लाग्छ । तातो, सस्तो र एक्लोपनसँग मेल खाने ।
त्यसै सोचिरहन्छ ऊ ।
यो म मात्रै हुँ त, कि यो शहर नै यस्तै हो ? सबै चुपचाप, सबैका सपना धुवाँ भएर उड्ने ?
बाहिर उज्यालो पर्न थालेको छ। दिन फेरि सुरु हुँदैछ । ननिदाएका आँखामा फेरि उही सफलताको सपनाहरु भरिएका छन् । तर, अझै पनि उस्तै प्रश्न, उस्तै उत्तरविहीन जीवन लिएर आफैं जस्तो कथाका पात्र खोजीमा हिँड्नु जो छ ।


















