
विराटनगर । विराटनगरमा भएको ‘विराटनगर महानगरपालिका मेयर कप वडा स्तरीय फुटबल’ प्रतियोगिताको उपाधि वडा नम्बर १९ ले जितेको छ ।
विराटनगर–१९ स्थित बैजनाथपुर रंगशालामा वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा वडा नम्बर १९ ले वडा नम्बर १६ लाई २–० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो । वडा नम्बर १९ ले उपाधिसँगै ८० हजार रुपैयाँ र उपविजेता टोली वडा नम्बर १६ ले ४० हजार रुपैयाँका साथै ट्रफी प्राप्त गरे ।
वडा नम्बर १९ को जितमा समीर क्षेत्री नायक बने । उनले व्यक्तिगत तथा टोलीका लागि २ गोल गर्दै उपाधि दिलाए । खेलको प्लेयर अफ द म्याच समीरले नगद १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक वडा नम्बर १९ का कृश सरदार, उत्कृष्ट डिफेन्डर वडा नम्बर १९ का विकास खवास, उत्कृष्ट मिडफिल्ड वडा नम्बर १६ का अभि राम, उत्कृष्ट स्ट्राइकर वडा नम्बर १६ का नवीन मगर र उदयमान खेलाडी वडा नम्बर १९ का सुशान्त खवास भए । उनीहरूले जनही ३ हजार रुपैयाँ प्राप्त गरे ।
खेलको सर्वाधिक गोलकर्ता वडा नम्बर १९ का मिलन लिम्बूले ३ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे भने उत्कृष्ट प्रशिक्षक वडा नम्बर १९ का गौरव खवास घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, आयोजक वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, पूर्ववरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, शुभआशिष कोइरालालगायतले पुरस्कार प्रदान गरे ।


















