
विराटनगर । संखुवासभाको विकट उत्तरी भोटखोला पूर्वको कर्णाली भनेर चिनिन्छ । पूर्वको कर्णाली भोटखोलामा जन्मिएका जेनजेन लामाको जीवनयात्रामा सगरमाथाको चुचुरोसम्म पुग्नसक्ने कल्पनासमेत गर्न गाह्रो थियो।
त्यही विकट गाउँको एउटा सानो घरमा जन्मिएर उनले सुरु गरेका थिए आफ्नो जीवनयात्रा । काँधमा भारी बोकेर हिँड्नु दिनचर्या थियो, मनमा सपना बोकेर बाँच्नु भाग्य।
टाढा–टाढासम्म फैलिएको पाखा, गहिरा खोँच र हिउँले भरिएका डाँडाहरू। बर्खामा बग्ने नदी, जाडोमा जम्ने हावा, कहिले काहीँ मात्रै आउने बिजुली, पर्खालमा टाँसिएको आकाश, बस्तीमाथि ढुसीझैँ झरेको हिउँ, अनि कहिले काँधमा र कहिले मनमा बोकेको बोझ, जेनजेनको बाल्यकाल यसैगरी बित्यो ।
हिउँको चिसो र अभावको भारले थिचिएको जेनजेनको मनले भने उच्च आकांक्षाको ताप बोकेको थियो। कहिले काँधमा भारी, कहिले मनमा पीडा बोकेर हुर्किएका जेनजेन जब सदरमुकाम खाँदबारी झरे, तब सपनाले उडान लिएको थाल्यो।

खाँदबारीको भिडभाड, आत्मीयताविहीन सहर अनि भोटखोलाको मौनताको सम्झनाबीच उनले पढाइ सुरु गरे। हरेक अभावबीच अवसर खोज्दै अघि बढे। जीवन जति कठिन भयो, सपनाको आकार त्यति नै विशाल हुँदै गयो।
बिस्तारै उमेरका खुड्किला चढ्दै जाँदा सदरमुकाम खाँदबारी झरेका उनले खाँदबारीलाई ‘सेतो सपना नियाल्ने झ्याल’ मान्न थाले । त्यो झ्यालबाट उनले देखेका सपना काठमाडौंतिर लागे । काठमाडौंतिरको यात्रा, जहाँ हजारौं सपना उम्रिन नपाउँदै ओइलाउँछन्, त्यही भिडमा उनले आफ्नो सपनालाई जिउँदो राखे।
पर्खालबाट देखिने आकाश टाढा लाग्थ्यो । तर, त्यो आकाशभित्र उड्ने सपना भने नजिकै थियो । त्यसैले होला, जेनजेनको नजरमा सगरमाथा सधैँ नजिक छ । उनले २१ वर्षको उमेरमा पहिलोपटक सगरमाथा चढे।

अहिले उनी ३३ वर्ष पुगे । अहिलेसम्म आइपुग्दा सगरमाथाको ६ पटक आरोहण गरिसकेका उनी भन्छन्, ‘पहिलो पटक चढ्दा हिमालसँगको साइनो आध्यात्मिक थियो। अहिले त्यो आत्मीयता हराउँदै गएको छ।’
उनले त्यो पहिलो चढाइ आज पनि जीवनकै गहिरो अनुभव भएको बताए । ‘पहिलोपटक चढ्दा सगरमाथा मौन थियो । जीवित थियो । श्वास रोकिँदै गएका क्षणमा मैले आकाश छुन खोजिनँ । पृथ्वी समाउन खोजें,’ उनी भन्छन् ।
तर, अबको सगरमाथा यात्रा भने त्यति गहिरो लाग्दैन उनलाई । ‘अहिले सगरमाथा उस्तै छैन,’ उनी भन्छन्, ‘हिमालको स्वरुप फेरिएको छ र मौसमको चाल बुझिन्न र चढाइ पनि बदलिएको छ।’ उनका अनुसार पहिले मौसम हेरेर योजना बनाउने गरिन्थ्यो । ‘पहिला हामी मौसम हेरेर योजना बनाउँथ्यौं । अब त मौसमले आफैं योजना बनाउँछजस्तो लाग्छ,’ जेनजेन भन्छन् ।

हिमालसँगको सम्बन्ध अब आस्थाभन्दा बढी प्रतिस्पर्धाको विषय बनेको महसुस गर्छन् उनी । ‘अहिले त फोटो खिच्न, रेकर्ड राख्न र सगरमाथालाई उपभोग गर्न मात्रै चढिन्छ,’ उनी भन्छन्, ‘हिजोको साधना आज ‘सेल्फी दौड’जस्तो भएको छ।’
जेनजेनको अनुभवमा ‘बेसक्याम्प’ (आधार शिविर)को अवस्था पनि फेरिएको छ। पहिले सुविधा थिएन । आत्मीयता थियो । अहिले क्याफे, बार, हिटर सबै सुविधा छ । तर, हिमाल हराएको छ।
हिमालको आँखामा उनी अब मौनता देख्दैनन्, पीडा देख्छन्। ‘पहिला हिमाल चढ्दा मौनता थियो । अब त्यसमा एक किसिमको करुणा भेटिन्छ,’ उनी भन्छन्। उनका अनुसार सगरमाथा जसले हजारौँलाई उचाइ देखायो, आज आफ्नै अस्तित्वको खोजीमा छ।

बारम्बार सगरमाथाको चुचुरोमा पुगेका जेनजेनलाई आज त्यो यात्रा पहाड चढेजस्तो लाग्छ। बाटो हराएको र हिमाल अघिल्तिर होइन, पछाडि पर्खिएर बसेको जस्तो लाग्छ।
जेनजेन सरकारलाई आग्रह गर्छन्, ‘कम्तीमा १ वर्ष सगरमाथा चढाइ रोकिनुपर्छ । सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्छ।’ उनको सुझाव चढाइ रोक्न होइन, सगरमाथा बचाइ राख्न हो।
भोटखोलाको चिसो आँगनमा पलाएको सपना, खाँदबारीको झ्यालबाट देखिएको उज्यालो, काठमाडौंबाट अघि बढेको पाइला र सगरमाथाको चुचुरोमा टाँसिएको विश्वास अझै जेनजेनसँग छन्। फरक यति हो, अब त्यो चुचुरोको निलो आकाशमा उत्साहभन्दा बढी आक्रोश छ । मौनता भन्दा बढी संकुचित सासहरू छन्।
‘हामीलाई सगरमाथाको आँखाले हेरिरहेको छ । अब हामीले फर्केर हेर्ने कि हेरेर पनि बेवास्ता गर्ने, त्यो अब हामीमाथि निर्भर छ,’ उनले भने । ‘हिमनदी बगिरहेको, नीलो आकाश फैलिएको त्यो दृश्यमा मैले आफ्नो अस्तित्व भेटेको थिएँ,’ जेनजेन भन्छन्, ‘आज त्यो नदेखिनु दुःखद् हो ।’ पछिल्लो आरोहणमा सगरमाथा उस्तै नलागेको अनुभव सुनाउँदै उनले भने, ‘जलवायु परिवर्तनको प्रभाव, भिडभाड, प्रतिस्पर्धा, अनेक खालका मानवीय गतिविधि र कृत्रिम सुविधाले हिमालको मौनता तोडिएको जस्तो लाग्छ ।’
उनका अनुसार पहिले मौसम हेरेर योजना बनाउने गरिए पनि अब भने मौसमले आफैं योजना बनाउँछजस्तो लाग्छ । उनको भनाइमा अहिले कतिबेला हिमपहिरो आउँछ, कतिबेला मौसम बिग्रन्छ भनेर अनुमानै गर्न सकिँदैन । हिजोको हिमाल चढाइलाई साधनाका रूपमा लिने गरिए पनि आज त्यो प्रवृत्ति बदलिएको छ।
‘पहिलाको चढाइ आस्थाको उचाइ नाप्ने प्रयास थियो,’ जेनजेनले अनुभव सुनाए, ‘अहिले फोटो खिच्ने, कीर्तिमान राख्ने, सगरमाथालाई उपभोग गर्ने दौड मात्रै चलिरहेको छ ।’ सगरमाथामा बढ्दो भिड र कृत्रिम सुविधा देखेर उनी चिन्तित छन्। ‘पहिले सामान्य सुविधासमेत नहुने ‘बेसक्याम्प’मा अहिले क्याफे बार, हिटर सबै छ । सहरको जीवनशैली हिमालमै ओसारिएको भान हुन्छ,’ उनले भने ।

जेनजेनले अबको हिमालमा धैर्य नभएर पीडा देख्न थालेका छन्। ‘पहिलाको हिमाललाई मैले मौनता र चेतनाको प्रतीक मानेको थिएँ,’ उनी भन्छन्, ‘अहिले त्यो मौनता हल्का रोदनमा परिणत भएको महसुस हुन्छ।’ त्यसैले सगरमाथाको भविष्यप्रति उनले चिन्ता व्यक्त गरेका हुन् । उनले पर्यटकको अव्यवस्थालगायतका विभिन्न मानवीय गतिविधिले सगरमाथाको आयु नै घटिरहेको महसुस हुने उनले बताए ।
सरकार सचेत भएर १ वर्ष आरोहरण रोक्ने निर्णय गर्यो भने सगरमाथाको आयु बढ्न सक्ने सुझाव उनको छ । ‘सरकारले अब तत्काल सचेत हुनु पर्ने बेला आएको छ । हिमालको आयु बढाउनेतिर लाग्नुपर्छ । सरसफाइ गर्न, ‘बेसक्याम्प’ व्यवस्थापन गर्न र प्राकृतिक प्रणालीलाई पुनः स्थिरता दिन सरकारले तत्काल कदम चाल्नुपर्छ,’ जेनजेनले भने । उनका अनुसार अहिलेको सगरमाथा चढाइ बाटो हराएको पहाड चढेजस्तो लाग्न थालेको छ ।
‘पहिला मार्ग देखिन्थ्यो । अब त झन् धेरै बाटाहरू बनेका छन् । तर, कुन चाहिँ सही हो भन्ने अन्योल,’ उनले भने । जेनजेनको भनाइमा सगरमाथालाई बचाउन आवाज उठाउनु आजको आवश्यकता हो। जेनजेनजस्ता हिमाली सन्तानका आँखाबाट देखिएको सगरमाथाको परिवर्तन सबैको साझा चिन्ताको विषय बनेको छ ।
























