
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरूद्धको भ्रष्टाचार मुद्दाको थुनछेक बहस सुरु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि पूर्व प्रधानमन्त्री नेपाल बुधबार (आज) विशेष अदालतमा उपस्थित भएका थिए ।
उनी पतञ्जलि जग्गा घोटाला प्रकरणमा अदालतमा उपस्थित भएर बयान दिएका छन् ।
पूर्व प्रधानमन्त्री नेपालको बयान सकिएसँगै थुनछेकको बहस सुरु भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस सुरु गरेका छन् ।
अख्तियारले पन्तलाई बहसका लागि निजी वकिलका रूपमा नियुक्त गरेको छ । मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्यालसहित सरकारी वकिलको टोलीले बहस गर्नेछन् ।
बहसकै लागि अख्तियारले पनि सहन्यायाधिवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको बताइएको छ ।
यस्तै, नेपालका तर्फबाट बहस गर्न सयौँ अधिवक्ताहरूले नाम टिपाएका छन् । हालसम्म १२० जना अधिवक्ताहरूले बहसनामा भरेको विशेष अदालतले जनाएको छ ।
जसमा देशकै चर्चित नामहरू वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, गोपालकृष्ण घिमिरे, गोविन्द बन्दी, खम्मबहादुर खाती, केदारप्रसाद कोइराला, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टीकाराम भट्टराई, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवाली, हरिहर दाहाल, हर्कबहादुर रावल, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा, खगेन्द्र अधिकारीलगायत छन् ।
अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जलि जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
























