विराटनगर । ‘बेसक्याम्प नआएसम्म आफैँलाई माया मारेझैँ लाग्छ,’ सगरमाथा आरोहणमा १७ वर्ष बिताएका आशिष गुरुङ भन्छन् ।
संखुवासभाको भोटखोलामा जन्मिएका गुरुङ सगरमाथा अन्तर्राष्ट्रिय माउन्टेन गाइड हुन् । ५ पटक सगरमाथा आरोहण गरिसकेका छन् । हिमाल उनको लागि साहस मात्र होइन, आत्मा पनि हो । तर, त्यही आत्मा आज संकटमा छ।
गुरुङको भनाइ छ, ‘सगरमाथाको यात्रामा जोखिम दिनानुदिन बढ्दै गएको छ।’ गाउँघरमा १० कक्षा पास गरेपछि लाहुरे बन्ने सपना देख्ने चलन छ। त्यही परिवेशमा हुर्किए पनि आशिषले त्यो चलन तोडे।
‘मैले देशमै केही गर्नुपर्छ भन्ने आँट लिएँ,’ उनी भन्छन्। सन् २००९ मा काठमाडौं पुगेका उनले आफन्तहरू पर्यटन क्षेत्रमा आबद्ध भएकाले माउन्टेन गाइड बन्ने बाटो समाते । १९ वर्षको उमेरमै गोर्खा–इटालियन किचनमा काम सुरु गरेपछि उनी हिमाली यात्रामा होमिए ।
गुरुङले पहिलोपटक मनास्लु हिमालमा ४५ किलो भारी बोकेर बेसक्याम्पसम्मको यात्रा तय गरे । त्यहाँ झण्डै १ महिना ‘पोटर’को रूपमा काम गरे । त्यसपछि २०१० मा किचन ब्वाइको रूपमा उनी सगरमाथाको बेसक्याम्प पुगे । ७५ दिनसम्मको त्यो अनुभव अझै स्मरणीय छ, ‘हिउँले ढाकिएको बाटो, उचाइको असर, अत्यावश्यक सामग्रीको अभावजस्ता धेरै चुनौती थिए ।’
हाफपाइन्ट र चप्पलमै रमाउने गाउँले परिवेशमा हुर्किएका गुरुङले ती चुनौतीलाई समयानुकूल आत्मसात् गरे। उनी भन्छन्, ‘साहसी मात्र भएर हुँदैन, हिमालमा टेक्निक चाहिन्छ।’ २००९ मा उनी क्याम्प ४ सम्म पुगे । २००३ मा क्याम्प ३ मा ।
१७ वर्षको अवधिमा उनले हिमाली वातावरणमा आएको उल्लेखनीय परिवर्तन देखेका छन् । पहिले ७० प्रतिशत हिउँले ढाकिने ठूला ढुंगाहरु अहिले खुला देखिन्छन्। ‘पहिले १ सय मिटर चढेपछि ‘क्लाइम्बिङ कपडा’ लगाउनु पर्थ्यो । अहिले डेढ घण्टा हिँडेपछि मात्र त्यसको आवश्यकता पर्छ,’ उनी भन्छन्।
खुम्बु क्षेत्रमा जलवायु परिवर्तनले नयाँ किसिमका स्वास्थ्य समस्या ल्याएको उनी बताउँछन्। ‘क्याम्प ३ मा पुगेपछि पनि सन्चो मान्छे बिरामी पर्छ। फ्लुजस्तो रोग लाग्छ । जसमा औषधिले काम नै गर्दैन । पहिले यस्तो रोग थाहा थिएन,’ गुरुङ भन्छन्।
उनी सगरमाथा क्षेत्रको बदलिँदो अवस्थालाई लिएर चिन्तित छन् । उनका अनुसार राज्यको ध्यान गुणस्तरमा नभएर आम्दानीमा केन्द्रित छ। ‘सरकारको ध्यान इनकम र महँगी बढाउन मात्रै छ। गुणस्तरमा कुनै फोकस छैन। सुझाव सुन्ने र कार्यान्वयन गर्ने चाहना नै देखिन्न,’ उनले स्पष्ट भने।
बेसक्याम्प पार गरेपछि फर्कन्छु कि फर्किन्न भन्ने कुनै टुंगो हुँदैन भन्ने अनुभव उनीसँग छ । ‘धेरै साथीहरू बेसक्याम्पमै अन्तिम श्वास फेरे। कतिले हात मिलाएर ‘चाँडै भेटौंला’ भने । तर। हिउँको काखमै हराए। उनीहरूको शव अझै भेटिएको छैन,’ उनी भन्छन् ।
सगरमाथाको आरोहण केवल शारीरिक परिश्रम मात्रै होइन, गहिरो मानसिक परीक्षा पनि हो। ‘बेसक्याम्प नआएसम्म परिवारलाई फोन या म्यासेज गर्छौं । पर्ख है,’ उनी भन्छन्। हिमालमा प्रत्येक पाइला, प्रत्येक श्वास जोखिमको काँधमा टेकेर चालिन्छ।
५ पटक सगरमाथा आरोहण गरिसकेका गुरुङले अब आफू विदेशिनुपर्ने बाध्यता आउन सक्ने संकेत पनि गरे। ‘यहाँ जोखिम त बढेकै छ । तर, पेसामा सम्मान र सुरक्षाको ग्यारेन्टी छैन,’ उनी भन्छन्। हिमालको सेवा, जोखिमको सामना र पर्यटन उद्योगमा योगदान हुँदाहुँदै पनि उनीजस्ता गाइडहरूको अवस्था राज्यले नदेखेजस्तै छ।
सगरमाथा नेपालको गौरव हो । तर त्यो गौरव दिनदिनै जोखिममा परिरहेको छ। आशिष गुरुङको १७ बर्से अनुभव केवल व्यक्तिगत यात्रा होइन, नेपालको पर्वतारोहण क्षेत्रको अवस्थाको प्रतिविम्ब हो। सगरमाथाको भविष्य बनाउने वा बिगार्ने भन्ने कुरामा सरकारले ध्यान दिन जरुरी छ। गुरुङ तत्काल संरक्षणका लागि उचित कदम नचालेमा सगरमाथा एक दिन ठूलो संकटमा पर्ने बताउँछन् ।