
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ स्थित कालाबन्जर चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घिनाघाट सडक खण्डमा नेताचोकबाट हरैचाँतर्फ जाँदै गरेको को २५ प ५३१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएको थियो ।
डिभाइडरमा ठोक्किएर सडकको विपरीत दिशामा उछिट्टिएका मोटरसाइकल चालकलाई विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ७६५८ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन ।
प्रहरीले मृतकको शव परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ । दुर्घटनामा संलग्न टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनापश्चात् टिपर चालक फरार छन् । प्रहरीले फरार चालकको खोजी कार्य तीव्र बनाएको छ । घटनाकाे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।



















