
विराटनगर । घर, परिवार एवं आफन्तजस्ता शब्दहरुले आम मानिसलाई सुरक्षा, माया र भरोसाको अनुभूति हुन्छ ।
तर, पछिल्लो समय यस्ता शब्दले आफ्नो मर्म नै गुमाइरहेको अनुभूति हुन थालेको छ । घरहरु हिंसा र खतराको अखडा बन्न थालेका छन् । कतिपय अवस्थामा आफन्त नै काल बनिदिन्छन् । पारिवारिक विवाद, सम्पत्तिको झगडा, यौन हिंसा, मानसिक असन्तुलन र रिसईबीजस्ता कारणले आफन्तको हातबाट घरभित्रै ज्यान गुमाउनुपर्ने शृङ्खलाबद्ध अपराध कोशी प्रदेशमा बढ्न थालेको छ ।
आफन्तकै हातबाट हत्या हुने घटनाहरू पछिल्लो समय डरलाग्दो रूपमा बढ्दै गएका छन् । आत्मीयता, भरोसा र सुरक्षाको पर्याय मानिने कतिपय ‘घर’हरु हिंसा र ज्यानमारा घटना हुने अपराधिकस्थल जस्तै बन्न थालेको बुझाइ अनुसन्धान अधिकारीहरुको छ । उनीहरुका अनुसार पछिल्ला घटनाहरुबाट मानवीय सम्बन्धमा बढ्दो असन्तुलनले समाजलाई कता पुर्याउँदैछ भन्ने प्रश्न उठ्न थालेको छ ।
अधिकारीहरुका अनुसार पारिवारिक सम्बन्ध सधैं माया, सुरक्षा र विश्वासको पर्याय मानिन्छ । घरभित्रका आत्मीय सम्बन्धले जीवनलाई आत्मिक बनाउँछ भन्ने सामाजिक मान्यता छ । तर, पछिल्लो समय घरभित्रै र आफन्तकै हातबाट हत्या हुने क्रमले यी मान्यतालाई ओझेलमा पारेको भान हुन थालेको छ ।
जीवनभर सघाउने अपेक्षा गरिने आफन्तले नै प्राण हरण गर्न थालेपछि पारिवारिक संरचना संकटमा पर्न थालेको भनेर समाजशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । कोशी प्रदेशमा मात्रै पछिल्लो ३ आर्थिक वर्ष (चालु वर्षको जेठसम्म)मा कर्तव्य ज्यान सम्बन्धी २ सय ४६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये १ सय ३६ घटनामा आफन्तकै संलग्नता देखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार ५५ प्रतिशत बढी हत्या घरभित्रै र आफन्तबाटै भएको छ । प्रहरीको तथ्यांकले पनि हिंसा र अपराधको स्रोत घरभित्रै उत्पन्न भइरहेको प्रष्ट हुन्छ । घरभित्रै हुने अपराध बारम्बार दोहोरिनुले समाज र पारिवारिक सम्बन्ध खस्कँदै गइरहेको संकेत गर्छ ।
घटना–१
२०७८ चैत २८ गते उदयपुरको कटारी नगरपालिका–५ सिसाघारीमा ४२ वर्षीय पोष्टराज दाहालले आफ्नी पत्नी ३८ वर्षीया नानुमाया दाहालको हत्या गरे । चिर्पट प्रहार गरेर उनले पत्नीको हत्या गरेका थिए ।
सामान्य भनाभनबाट सुरु भएको झगडाले यति हिंसात्मक रूप लिन्छ भन्ने कसैले कल्पनासमेत गरेको थिएन । घटना भएको राति नै पोष्टराजलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा चलायो ।
घटना–२
२०८२ वैशाख २ गते संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको हत्या भयो । आफ्नै बुहारी र नातिनी तथा २ जना किशोर मिलेर उनको हत्या गरेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार योजना बनाएरै वृद्धको हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको छ ।
घरभित्रकै पुरानो रिसईबी, मनमुटाव र पारिवारिक तनावले घटनालाई हिंसात्मक मोडमा पुर्याएको प्रहरीको निष्कर्ष छ । यद्यपि, मृतक वृद्ध आफैं अपराधिक पृष्ठभूमिका व्यक्ति थिए ।
घटना–३
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ मा आइतबार बिहानका राति एकै परिवारका ४ जनाको हत्या भयो । ३० वर्षीय राजेन्द्र राईले छुरा प्रहार गरेर ससुरा, सासू, पत्नी र सालोको हत्या गरेको भोजपुर प्रहरीका निमित्त प्रमुख, इन्स्पेक्टर दीपक श्रेष्ठले बताए ।
उनका अनुसार हत्यापछि राजेन्द्र आफैंले प्रहरीलाई फोन गरी घटनाको जानकारी दिएका थिए । उनले पत्नी १६ वर्षीया मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उल्लेखित घटनाहरुलाई संयोगवश भएको वा अपवादका रूपमा बुझ्न नमिल्ने तर्क अधिकारीहरुको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार २०७९–०८० मा ८३ वटा कर्तव्य ज्यान मुद्दा दर्ता भएकोमा ४५ वटा घटनाका प्रतिवादी आफन्त र परिवारभित्रै थिए ।
२०८०–०८१ मा हत्यासँग सम्बन्धित ७२ वटा मुद्दा दर्ता हुँदा ५१ वटामा आफन्त नै संलग्न रहेको अनुसन्धानबाट पत्ता लाग्यो । चालु आर्थिक वर्षको जेठसम्ममा कर्तव्य ज्यानसँग सम्बन्धित ९१ वटा मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ४० वटामा आफन्त एवं परिवार भित्रकैलाई प्रतिवादी बनाइएको छ ।
प्रहरीका अनुसार यस्ता घटनाहरूको मूल कारण घरभित्रको विवाद, सम्पत्ति सम्बन्धी झगडा, यौन दुव्र्यवहार, घरेलु हिंसा, नसाजन्य वस्तुको सेवन, आवेग, पुरानो रिसईबी, सम्बन्धविच्छेदपछि उत्पन्न तनाव र मनोवैज्ञानिक असन्तुलन हुन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की पछिल्ला वर्षहरुमा आफन्तबाट हुने हत्या प्रायः सम्पत्ति, लेनदेन, यौन दुव्र्यवहार, बलात्कार, आपसी असमझदारी र दण्डहीनताको वातावरणसँग जोडिएको बताउँछन् ।

डीआईजी ईश्वर कार्की
‘सम्बन्धहरू जतिसुकै घनिष्ठ भए पनि विश्वास टुटेपछि क्रुर हत्यामा परिणत हुने गरेको पाइन्छ,’ उनले भने, ‘अधिकांश हत्या चिनजानका, अत्यन्तै नजिकका र परिवार भित्रबाटै भएका छन् ।’ कार्कीले परिवारका सदस्य र आफन्तबाटै हत्या हुने क्रम बढ्दै जाँदा हाम्रो समाजको मूल्य, मान्यता, संस्कार र संस्कृति कता जाँदैछ भन्ने गम्भीर प्रश्न खडा भएको बताए ।
उनका अनुसार समाजमा नैतिकताको कमी, आत्मअनुशासन र आत्मनिर्णयको अभावले यस्ता हिंसात्मक घटना बढ्दै गइरहेको छ । ‘पहिले धर्म र संस्कारले माया एवं सद्भावको शिक्षा दिन्थ्यो । अहिले त्यो नैतिक शिक्षा कमजोर बन्दै गएको छ । समाजमा अनुशासनको अभाव देखिएको छ,’ कार्कीले भने ।
समाजमा नैतिक शिक्षा र परिपक्वता कमजोर हुँदै जाँदा सामाजिक संरचना, पारिवारिक सहमति तथा परामर्शको संस्कार हराउँदै गएर हिंसात्मक अपराधमा परिणत हुने गरेको उनको भनाइ छ । कार्कीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम, महिला तथा बालबालिका इकाई लगायतमार्फत अपराधविरुद्ध जनचेतना फैलाउने काम भइरहेको बताए ।
प्रहरीको अनुसन्धानबाट पति–पत्नीबीचको विवाद, विवाहको असहमति, वित्तीय समस्या र पारिवारिक अधिकार (सम्पत्ति भागबण्डा)को द्वन्द्व, आफन्तबीचको मनमुटाव, टकरावलगायत अनेक विवाद हत्याको प्रमुख कारण देखिएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रम तीव्र पारिए पनि समाजमा नैतिक बल र साझा जिम्मेवारीको भावना बलियो नभएसम्म यस्ता घटना न्यूनीकरण चुनौतीपूर्ण बन्ने अनुसन्धान अधिकारीहरु बताउँछन् ।
उनीहरुका अनुसार समाजमा विश्वास र समझदारीको वातावरण कायम नभएसम्म यस्ता अपराध बारम्बार दोहोरिन्छन् । कतिपय घटना आकस्मिक रूपमा भएको देखिन्छ । कतिपय लामो समयदेखिको रिसईबी, कटुता र योजनाबद्ध हिसाबले हुने गरेको प्रहरीले जनाएको छ ।
यस्ता घटनाको पृष्ठभूमि हेर्दा पहिले कुनै मानसिक उपचार नलिएको, घरभित्रको समस्या साझा नगरेको र तनाव व्यवस्थापन गर्न नसकेको स्थिति देखिन्छ । मानसिक स्वास्थ्यका दृष्टिले हेर्दा पनि स्थिति गम्भीर छ । मनोचिकित्सक डा. प्रभात चालिसेका अनुसार हिंसा गर्नेहरूमध्ये केवल ५ प्रतिशतमा मात्र गम्भीर मानसिक रोग भेटिन्छ । बाँकीमा सामाजिक असमझदारी, आत्मनियन्त्रणको अभाव र वातावरणीय कारण रहेको उनको भनाइ छ ।

डा. प्रभात चालिसे
डा. चालिसेका अनुसार ‘एण्टी–सोसल पर्सनालिटी डिसअर्डर’ भएका, सहानुभूति कमजोर भएका र अत्यधिक आवेगमा बाँच्ने मानिसहरूमा हिंसात्मक व्यवहार देखिन सक्छ । प्रेम अस्वीकार, सामाजिक सञ्जालको दुरुपयोग, अपमानजन्य अवस्था वा लामो समयको अवहेलनाले पनि यस्ता व्यक्ति हिंसातर्फ धकेलिन सक्ने उनको भनाइ छ ।
समाजशास्त्री डा. चन्द्र उपाध्याय हाम्रो समाजमा अझै पनि पुरुषप्रधान सोच हाबी रहेको बताउँछन् । ‘पुरुषले महिलामाथि नियन्त्रण गर्नुपर्ने, आफन्तलाई निर्देशन दिनुपर्ने र आफूलाई शक्तिशाली देखाउने मानसिकता अझै नहट्दा समाज र परिवारमा अपराध बढेको छ,’ उनले भने, ‘यस्तो सोचले परिवारभित्रको सम्बन्धमा विष मिसिन्छ र अन्ततः विश्वासको टुटफुट एवं हिंसामा परिणत हुन्छ ।’

डा. चन्द्र उपाध्याय
संवादको अभाव हुने घरभित्र सानो कुरा पनि ठूलो भएर लामो समयसम्म रहँदा त्यसले पछि विस्फोट भएर अपराधको रूप लिने उपाध्यायको भनाइ छ । उनका अनुसार पारिवारिक हिंसा रोक्नका लागि पहिलो कदम घरभित्रकै सम्बन्धलाई पुनर्स्थापना गर्नु हो । ‘विश्वास, संवाद र भावनात्मक सहकार्यको वातावरण बसाल्न सकिएन भने कुनै कानुनले मात्र हिंसा रोकिन्न,’ उनले थपे ।
अधिवक्ता विनोदकुमार तिमल्सिना आमनागरिकको चेतनामा परिवर्तन ल्याउन सके मात्रै अपराधिक मनोवृत्तिको रोकथाम सम्भव हुने बताउँछन् । ‘यो राज्यको नीतिसँग सम्बन्धित हुन्छ । प्रचलित कानुनका विषय प्रत्येक नागरिकसम्म पुर्याउने दायित्व राज्यले निर्वाह गर्नुपर्छ । राज्यले नागरिकलाई कानुनका बारेमा जानकारी नै दिँदैन भने त्यसबाट उत्पन्न हुने परिणाम पनि जानकारी नहुन सक्छ,’ उनले भने ।
उच्च अदालत विराटनगर बार एसोसिएसनका सचिवसमेत रहेका तिमल्सिना आर्थिक अवस्था र पारिवारिक मनमुटाव अपराधको प्रमुख कारण रहेको बताउँछन् । नागरिकको चेतना र आर्थिकस्तर उकास्न सके मात्रै परम्परागत अपराध न्यूनीकरणमा मद्धत पुग्ने उनको भनाइ छ । यसमा समाजको पनि उत्तिकै भूमिका हुने उनले बताए ।

अधिवक्ता विनोदकुमार तिमल्सिना
कुनै व्यक्तिलाई अपराधिक वातावरणमा संलग्न नहुनका लागि समाजले पनि घुलमिल, छलफल एवं निर्णय प्रक्रियामा सहभागी गराउने तथा सामाजिक उत्तरदायित्वको विषयमा चेतना जगाउने काम गर्नुपर्ने सुझाव अधिवक्ता तिमल्सिनाको छ । ‘परिवारभित्र बढ्दो हत्या न्यूनीकरण र समस्या समाधानका लागि शिक्षा, चेतना, परामर्श, उपचार र कानुनी कठोरताको संयोजन गर्नुपर्छ,’ उनले भने । विद्यालय तहमै आत्मनियन्त्रण, सहिष्णुता, सहानुभूति र संवादको शिक्षा दिनुपर्नेमा उनको जोड छ ।
साथै, मानसिक स्वास्थ्यका लागि निःशुल्क परामर्श सुविधा, घरेलु हिंसाका घटनामा पीडितको तत्काल सुरक्षाको व्यवस्था, हिंसा पीडितका लागि पुनस्र्थापना केन्द्र र परिवारमै सहजीकरण गर्न सक्ने परामर्शदाताको भूमिका राज्यले निर्वाह गर्नुपर्ने विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार हत्याजस्ता अपराधलाई व्यक्तिगत दुर्भाग्य भनेर पन्छाउन मिल्दैन ।
सरकार र समुदाय मिलेर आत्मबल, संवाद र न्यायको संस्कृति बलियो बनाउनुपर्नेमा उनीहरुको जोड छ । उनीहरुले घरभित्र शान्ति र सुरक्षा फर्काउने अभियान चलाएर त्यसलाई प्रभावकारी बनाउन सके मात्रै आफन्त फेरि भरोसाको पर्याय एवं घर ममताको आश्रयस्थल बन्न सक्ने बताए ।

























