गोल्डेन हस्पिटलले सहुलियतमा शल्यक्रिया गर्ने घोषणा 

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २६, बिहीबार १५:४२

विराटनगर । गोल्डेन हस्पिटल विराटनगरले शल्यक्रिया सेवामा विशेष सहुलियत ल्याएको छ।

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा हस्पिटलले आफ्ना विभिन्न शल्यक्रिया सेवाहरूलाई सहज, सुरक्षित र किफायती बनाउने घोषणा गरेको हो ।

हस्पिटलका प्रबन्ध निर्देशक डा. श्यामकुमार रौनियारले लामो समयदेखि प्रतीक्षामा रहेका बिरामीलाई लक्षित गर्दै हस्पिटलले विशेष सहुलियत दरमा शल्यक्रियाको सेवा उपलब्ध गराउने योजना अघि सारेको बताए ।

उनको अनुसार हाइड्रोसिल र एपेन्डिक्सको  शल्यक्रिया १९ हजार ९ सय ९९ रुपैयाँ, सिजरियन डेलिभरी १५ हजार र सामान्य डेलिभरी ४ हजार ९ सय ९९ रुपैयाँमा गरिनेछ।

साथै, अन्य शल्यक्रिया सेवाहरू पनि यस्तै सहुलियत दरमा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

डा. रौनियारले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै नाफाभन्दा मानव सेवालाई प्राथमिकतामा राख्ने अस्पतालको मूल दृष्टिकोण रहेको प्रस्ट्याए ।

उनले मातृ तथा शिशु मृत्युदर घटाउनु, गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नु तथा नागरिकलाई झन्झटिलो प्रक्रिया र लामो प्रतीक्षा सूचीबाट मुक्त गराउनु नै अस्पतालको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

शल्यक्रिया सेवामा १० देखि १५ वर्षको अनुभव भएका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने अस्पताल प्रशासनले जनाएको छ।

५ वर्षमुनिका बालबालिकालाई सम्पूर्ण सेवामा २५ प्रतिशत छुट तथा ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

‘तपाईंको स्वास्थ्य, हाम्रो जिम्मेवारी’ भन्ने नारालाई व्यवहारमा उतार्दै अस्पतालले पूर्वी नेपाल मात्र नभई देशभरका बिरामीलाई लक्षित गरेको छ। यस योजनाले नेपाली स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण स्थापित गर्ने विश्वास रहेको डा. रौनियारले बताए ।

अस्पतालले आगामी दिनमा थप जनमैत्री सेवाहरू ल्याउने प्रतिबद्धता जनाएको छ । यस निर्णयले विराटनगर मात्र नभएर देशभरका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य सेवा उपलब्ध गराउने विश्वास अस्पतालको रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×