अहमदाबाद विमान दुर्घटना हुँदा दुवै इन्जिन बन्द भएको खुलासा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २८, शनिबार ०८:३०

काठमाडौं । गत जुन १२ मा भएको अहमदाबाद विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदनले सार्वजनिक भएको छ । 

विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले जुलाई १२ मा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै दुर्घटनाको मुख्य कारण विमानको दुवै इन्जिन बन्द हुनु रहेको खुलासा गरेको छ। 

Advertisement

जुन १२ मा एयर इन्डियाको उडान एआई १७१ अहमदाबादबाट लन्डनका लागि उडेको केही सेकेन्डमै मेडिकल होस्टेल भवनमा ठोक्किएको थियो । यो दुर्घटनामा २४१ यात्रु र चालक दलका सदस्यसहित २७० जनाको मृत्यु भएको थियो । एकजना बेलायती नागरिक विश्वास कुमार रमेश मात्र जीवित बाँचे । 

प्रतिवेदनअनुसार विमान उडान भरेको ३२ सेकेन्डमै दुवै इन्जिन बन्द भए । इन्धन कटअफ स्विचहरू एक सेकेन्डको अन्तरमा  ‘रन’ बाट  ‘कटअफ’ स्थितिमा पुगे, जसले इन्जिनमा इन्धन आपूर्ति बन्द गरायो । ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कोलाई सोधेको सुनिन्छ,  ‘तिमीले इन्जिन किन बन्द गर्यौ ?’ जवाफमा अर्को पाइलटले भन्छन्,  ‘मैले गरिन।’ 

पाइलटले इन्जिन पुनः सुरु गर्ने प्रयास गरे। इन्जिन १ केही हदसम्म चालु भए पनि इन्जिन २ सुरु हुन सकेन । विमानले १९० मिटर (६२५ फिट) को उचाइमा अन्तिम संकेत पठायो र पाइलटले  ‘मेडे’ सन्देश पठाए, त्यसपछि सम्पर्क टुट्यो । 

अनुसन्धानले इन्धनमा कुनै समस्या नभएको पुष्टि गरेको छ । मौसम सफा थियो, दृश्यता राम्रो थियो, र चरा ठोक्किने कुनै घटना पनि भएन । दुवै पाइलट स्वस्थ थिए, जसमा क्याप्टेनसँग ८ हजार २०० घण्टा र सहपाइलटसँग १ हजार १०० घण्टा उडान अनुभव थियो। 

इन्जिन बन्द भएपछि विमानको र्‍याम एयर टर्बाइन (आरएटी) स्वचालित रूपमा सक्रिय भयो । यो उपकरणले आपतकालीन बिजुली र हाइड्रोलिक पावर प्रदान गर्छ। तर विमानलाई दुर्घटनाबाट जोगाउन पर्याप्त भएन । 

प्रतिवेदनले प्राविधिक गडबडी वा मानवीय त्रुटिको सम्भावनालाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन । इन्धन कटअफ स्विच कसरी  ‘कटअफ’ स्थितिमा पुग्यो भन्ने रहस्य बाँकी छ। बोइङ ड्रीमलाइनर ७८७ वा यसको जीई जिनएक्स–१बी इन्जिनका सञ्चालकलाई हालसम्म कुनै सल्लाह जारी गरिएको छैन। 
यो प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको कारणबारे केही स्पष्ट पारे पनि तर धेरै प्रश्नहरू अझै बाँकी छन् । के यो प्राविधिक गडबडी थियो ? के यो सफ्टवेयर समस्या थियो ? के यो मानवीय त्रुटि थियो ।  एजेन्सी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.