
एजेन्सी । फिलिपिन्सको लेइते प्रान्तस्थित टाक्लोबान सहरको सान जोसे नेशनल हाइस्कुलमा सोमबार भएको गोलीकाण्डमा तीन जना विद्यार्थीको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
स्थानीय समयअनुसार बिहान करिब ९ बजे विद्यालयभित्र दुई किशोरले अन्धाधुन्ध गोली चलाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । १५ र १४ वर्षका दुई नाबालक घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
गोली चलेपछि विद्यालयमा भागदौड मच्चिएको थियो । सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका भिडियोमा विद्यार्थीहरू त्रसित अवस्थामा कक्षाकोठाभित्र लुकेर ज्यान जोगाउने प्रयास गरिरहेको देखिन्छ । समाचार संस्था एएफपीले भिडियोहरूको सत्यता पुष्टि गरेको छ ।
घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी विद्यालय पुगेका थिए । घटनास्थललाई नियन्त्रणमा लिएपछि घाइतेहरूलाई नजिकको अस्पतालमा पठाइएको थियो । चिकित्सकहरूले तीन जनालाई मृत घोषणा गरेका छन् । मृतक तथा घाइतेहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।
फिलिपिन्सको शिक्षा मन्त्रालयले घटनापछि उच्च सतर्कता अपनाइएको जनाएको छ । प्रभावित विद्यार्थी, शिक्षक र कर्मचारीका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइने तथा पीडित परिवारलाई आवश्यक सहयोग प्रदान गरिने जनाइएको छ ।
विद्यालयभित्र हुने दुर्व्यवहार वा व्यक्तिगत रिसइबी घटनाको सम्भावित कारण हुन सक्ने अनुमान गरिएको छ । किशोरहरू हतियारसहित विद्यालयभित्र कसरी प्रवेश गर्न सफल भए भन्ने विषय पनि अनुसन्धानको मुख्य केन्द्र बनेको छ ।
घटनास्थलबाट एउटा रिभल्बर र एउटा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै हतियार फरेन्सिक परीक्षणका लागि पठाइएको छ । नाबालक संलग्न भएकाले उनीहरूमाथि बाल न्यायसम्बन्धी कानुनी व्यवस्थाअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
टाक्लोबान सिटी प्रहरी प्रमुखले घटनालाई अत्यन्त दुःखद् भन्दै तथ्यमा आधारित निष्पक्ष अनुसन्धान गरिने बताएका छन् । उनले अपुष्ट सूचना नफैलाउन र नाबालकको गोपनीयताको सम्मान गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
फिलिपिन्समा विद्यालयभित्र हुने गोलीकाण्ड विरलै हुने भए पनि अवैध हतियारको कारोबार चुनौतीका रूपमा रहेको बताइन्छ । सन् २०२२ मा मनिलामा दीक्षान्त समारोहअघि भएको गोलीकाण्डमा पूर्व नगरप्रमुखसहित तीन जनाको मृत्यु भएको थियो ।
पछिल्लो घटनापछि देशभरका विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । किशोर संलग्न हिंसात्मक घटनाले सर्वत्र चिन्ता बढाएको छ ।



















