
काठमाडौं । कतारको एक फ्याक्ट्रीमा विष्फोट हुँदा १२ भारतीयसहित १३ जनाको मृत्यु भएको छ । रास लाफान इन्डस्ट्रियल सिटीमा अवस्थित फ्याक्ट्रीमा भएको विष्फोटमा परी १३ जनाको मृत्यु भएको हो ।
दोहास्थित भारतीय दूतावासले ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘कतारका अधिकारीहरूले आइतबार राति रास लाफानमा भएको घटनामा १२ भारतीय नागरिकको दुःखद् मृत्यु भएको पुष्टि गरेका छन् ।’
दूतावासले कतारका अधिकारीको हवाला दिँदै घटनामा घाइते भएका सबैको स्थिति स्थिर रहेको र उपचार चलिरहेको पनि जनाएको छ । कतारमा आठ लाखभन्दा बढी भारतीय कामगार छन् ।
भारतीय दूतावासले घटनाबाट प्रभावित भारतीय नागरिक र उनीहरूका परिवारको सहयोगका लागि कतारका अधिकारीहरूसँग नियमित सम्पर्क भइरहेको बताएको छ । जसमा मृतकको शव चाँडोभन्दा चाँडो भारत पठाउने व्यवस्था सुनिश्चित गर्नु पनि रहेको दूतावासको भनाइ छ ।



















