
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हस्ताक्षर अभियानमा हस्तक्षेप गर्दै माइक भाँचिदिएको छ ।
झापाको दमकस्थित क्याम्पस मोडमा रास्वपाका कार्यकर्ताले पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साधिएको भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेको थियो ।
आइतबार दिउँसो प्रधानमन्त्री ओली आउने भएपछि प्रहरीले रास्वपाको टोलीलाई हस्ताक्षर अभियान रोक्न लगाएको थियो । तर, नमानेपछि हस्ताक्षर अभियानमा प्रयोग गरेको माइक भाँचिदिएको हो ।
रास्वपा कोशी प्रदेशका कार्यवाहक प्रवक्ता प्रकाश अधिकारीले हस्ताक्षर अभियान चलिरहेका बेला प्रहरीले माइक भाँचेर लगेको बताए । उनका अनुसार ३ दिनयता दमकमा हस्ताक्षर अभियान चलिरहेको छ ।
प्रधानमन्त्री ओली गृह जिल्ला झापामा छन् । प्रधानमन्त्री झापाको गौरीगञ्ज जाने रुटमा रास्वपा कार्यकर्ता बसेपछि हटाइएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले भिभिआइपीको सवारी हुँदा सडक सुरक्षाका क्रममा रास्वपाका कार्यकर्तालाई केही समय रोकेको बताए ।
उनले माइक नखोसेको दाबी गरे । भिभिआइपीको सवारी हुँदा रोड प्रोटेक्सन ड्युटी लाग्छ,’ उनले भने, ‘त्यही क्रममा सामान्य केही भएको होला, माइक खोसेको होइन ।’
























