
विराटनगर । जन्मजात रूपमा बोल्न र सुन्न नसक्ने बालबालकहरूका लागि विराटनगरमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले २ बालकको सफल सर्जरीपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौंबाहिर यो सेवा सुरु गरिएको घोषणा गरेको हो । अस्पतालका निर्देशक प्रा.डा राजेश नेपालका अनुसार बाल्यकालदेखि नै सुन्न नसक्ने समस्याले पीडित २ बालकमा ‘कोक्लियर इम्प्लान्ट’ सर्जरी गरिएको र उनीहरुले बाहिरी आवाज सुन्न थालेको जानकारी गराए ।
उनका अनुसार अब केही समयपछि ती बालकहरूले बोल्नसमेत थाल्ने अपेक्षा गरिएको छ । प्रा. डा नेपालले सर्जरीपछि सुन्ने शक्ति प्राप्त गरेका ती बालकको सफलताले जन्मजात श्रवण समस्या भएका अरु बालबालिकाका लागि पनि आशाको संकेत दिएको बताए ।
‘यो सर्जरी काठमाडौंबाहिर पहिलोपटक हाम्रो अस्पतालमा गरिएको हो,’ उनले भने, ‘हामी विशेषगरी बोल्न नसक्ने बालबालिकाहरूका लागि यस्ता जटिल उपचार सेवामा केन्द्रित छौं ।’ सुनसरीको बराहक्षेत्र नगरपालिका–४ की लक्ष्मी धमलालाई शल्यक्रियापछि छोराले नयाँ जीवन पाएको अनुभव भएको छ ।
उनले भनिन्, ‘हामीले धेरै ठाउँ धायौं, कतै उपचार नपाएको छोराले विराटनगरमा शल्यक्रिया गराएपछि अहिले बाहिरी आवाज बुझ्न थालेको छ । यो हामीलाई पुनर्जन्म जस्तै भएको छ ।’ बालकको शल्यक्रिया गरेका विशेषज्ञ डा. शंकरप्रसाद साहले शरीरका केही अंगहरू अब प्रविधिको सहायताबाट पुनः सक्रिय बनाउन सकिने बताए ।
उनका अनुसार ‘कोक्लियर इम्प्लान्ट’ भन्नाले श्रवणशक्ति गुमाएका व्यक्तिको कानभित्र विद्युतीय उपकरण प्रत्यारोपण गर्ने प्रक्रिया हो । जसले ध्वनि संकेतलाई ‘इलेक्ट्रिक सिग्नल’मा परिवर्तन गरी मस्तिष्कमा पठाउँछ ।
डा. साहले नेपालमा पछिल्लो समय प्रविधिको उपलब्धतासँगै गम्भीर प्रकृतिका शल्यक्रियाहरू सम्भव भएका र ‘कोक्लियर इम्प्लान्ट’जस्ता प्रविधि दुर्गमसम्म पुर्याउनुपर्ने आवश्यकता औंल्याए । शल्यक्रिया सकिएपछि ती बालकहरूलाई अब फिजियोथेरापी, स्पीच थेरापी र सघन प्रशिक्षणमार्फत बोल्न सिकाउने चरण अगाडि बढाइने जनाइएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण गर्दै अस्पतालका महाप्रबन्धक दीपेश राईले नोबेल अस्पतालले पूर्वी नेपालमै अत्याधुनिक प्रविधिको माध्यमबाट उपचार सेवा विस्तार गरिरहेको बताए । उनका अनुसार अब सुनुवाइ गुमाएका बालबालिकालाई राजधानी जान नपर्नेगरी अस्पतालमा नै सेवा उपलब्ध गराइनेछ ।
विशेषज्ञहरूले ५ वर्षभन्दा मुनिका बालबालिकामा समयमै श्रवण क्षमता परीक्षण गरी उपचार गरेमा उनीहरू सामान्य बालबालिकाजस्तै जीवनयापन गर्नसक्ने भएकाले ‘कोक्लियर इम्प्लान्ट’ प्रविधिलाई अझ प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
नोबेल अस्पतालको यस प्रयासले पूर्वी नेपालका कैयौँ बालबालिकालाई आवाज र अभिव्यक्तिको अधिकार सुनिश्चित गर्ने दिशामा आशा जगाएको अस्पतालका सञ्चालक एवं मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माले बताए । डा. शर्माले आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा छुटको व्यवस्थासमेत मिलाइदिने गरेका छन् ।

























