
विराटनगर । संखुवासभाकी दिक्की शेर्पाले सगरमाथाको चुचुरो टेकिन् । तर, त्योभन्दा अघि समाजको संकुचित सोचको शिखर पार गर्नु परेको तितो अनुभव उनीसँग छ ।
जहाँ ‘माउन्टेन गाइड’को पेसा अझै पनि पुरुष प्रधान मानिन्छ । त्यही पेसामा उनले पाइला अगाडि बढाइन् । १२ वर्ष लामो आरोहण यात्रामा उनले भौगोलिक उचाइ मात्र नापिनन्, सांस्कृतिक र सामाजिक अवरोधलाई समेत पार गरिन्।
उनका लागि हिमाल चढ्नु शारीरिकभन्दा पनि मानसिक युद्ध थियो । छोरी मान्छेले के सम्हाल्ला हिउँको बाटो ? भन्ने जस्ता प्रश्नको घेरामा उनी परिन् । उनले गाइडको पेसामा पाइला टेकेको दिनदेखि त्यो समस्या झेल्नु पर्यो ।

आफन्तको सन्देह र गाउँलेहरूको चिसो दृष्टिकोणले उनलाई रोक्ने प्रयास नगरेको भने हैन । तर, अगाडि बढेका पाइला रोक्ने कुनै थिएन । किनभने उनको साथमा थियो परिवारको बलियो समर्थन।
सुरुका वर्षमा उनले गरेका धेरै सफल आरोहणहरू नजरअन्दाज गरिए । न उनले मिडियामा बोल्न चाहिन्, न त समाजले चासो दियो । तर, धैर्यताका साथ आफ्नो यात्रालाई अगाडि बढाइरहिन् । अब भने समाजको सोचको उचाइ पनि उक्लिन थालेको उनी सुनाउँछिन् ।
‘बल्ल २ वर्ष भयो मलाई ‘माउन्टेन गाइड’ भनेर चिन्न थालेको र मेरो पेसालाई सम्मान गर्न थालेको,’ उनी भन्छिन्, ‘यो सफलता धैर्यताकै कारण प्राप्त भएको हो भन्ने मैले बुझेकी छु।’ पहिलेका आलोचककै मुखबाट अहिले उनको सफलताको चर्चा सुनिन्छ।

उनले सन् २०१७ मा मनास्लु र २०१८ मा सगरमाथा सफलतापूर्वक आरोहण गरिन् । उनका अनुसार ८ हजार मिटरको उचाइ सजिलो हुँदैन । तर, आत्मबल भयो भने त्यो पनि पार गर्न सकिन्छ ।
विवाहपछि उनको जीवनले नयाँ मोड लियो । हिमाल चढ्ने र अरूलाई हिमाल चढ्न बाटो देखाउने काम सुरु भयो । उनको भनाइ अनुसार सुरुमा पति र परिवारलाई बुझाउनै गाह्रो भयो।
जब मामा ससुराले ‘बुहारी सक्छिन्’ भनेर विश्वास व्यक्त गरे, त्यसपछि परिवारको साथ अझै दृढ बनेको उनले बताइन् । घरबाहिर भने समाजसँग लड्न कठिन भएको उनी सुनाउँछिन् । भन्छिन्, ‘मेरो कामप्रति लक्षित गर्दै चरित्रमा प्रश्न उठाउने पनि थिए ।’
तर, घरको विश्वास बलियो भएकाले पनि आत्मबल झनै बढ्दै गएको उनको भनाइ छ । १२ वर्षको ‘करिअर’ मा उनले ६–७ हजार मिटरको उचाइ त पहिले नै पाइसकेकी थिइन् । उनी सम्झिन्छिन्, ‘८ हजार मिटर उक्लदा जुन गर्व महसुस भयो, त्यो बयान गर्नै गाह्रो छ ।’
हिमाल चढ्न बलियो मुटु र अडिग मन चाहिने उनको अनुभव छ । कहिलेकाहीँ पुरुष गाइडसँग एउटै टेन्टमा बस्नुपर्ने परिस्थिति आउँछ । तर, अधिकांशले सम्मान र संवेदनशील व्यवहार गर्छन् । त्यसैले उनलाई यो पेसा गर्विलो लाग्छ ।

उनको अनुभव अनुसार सगरमाथा चढ्नु मात्रै भन्दापनि बाटो बनाउने प्रक्रिया अझै कठिन हुन्छ । ‘हाम्रो शेर्पा दाइहरूले ‘फिक्स रोप’ लगाएर बाटो बनाएका हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले बाटो बनाउँदै हिमाल चढ्न सबैभन्दा गाह्रो हो, बनाएको बाटोमा हिँड्न खासै गाह्रो हुन्न ।’
आरोहणका बीचमा रमाइला पलहरू पनि हुने उनी सुनाउँछिन् । प्रकृतिको विपत्तिसँग जुध्न नसकिए पनि आफूबाट हुने समस्याहरूलाई पूर्वतयारी र तालिमले समाधान गर्न सकिने उनको भनाइ छ ।
त्यसो त सगरमाथामा बढ्दो प्रदूषण देखेर उनको मन खिन्न छ । ‘हजारौंले फोहोर गर्छन्, २५ जनाले सफा गरेर पुग्दैन,’ उनी भन्छिन्। जलवायु परिवर्तन, प्रदूषण र भिडका कारण हिमालय क्षेत्र संकटमा पर्दै गएकोमा उनी चिन्ता व्यक्त गर्छिन् । उनका अनुसार यस्तै अवस्था भए १०–१५ वर्षपछि हिमाल देख्न गाह्रो नपर्ला भन्न सकिन्न ।
हिमाललाई बचाउन आरोहीले आफ्नो घरझैँ मानेर यात्रा गर्नुपर्ने सुझाव उनी दिन्छिन् । फोहोर व्यवस्थापनमा तीनै तहका सरकार संवेदनशील हुनुपर्नेमा उनको जोड छ ।
उनका अनुसार आरोहणमा जाँदा दिसा प्याक गरेर फर्काउनुपर्छ । यति मात्रैले पनि पर्याप्त होइन, यसमा राज्यले थप नीतिगत सुधार गर्दै हिमाल जोगाउनतर्फ गम्भीर हुन जरुरी रहेको उनले बताइन् । भनिन्, ‘हिमाल आरोहणका लागि संघर्ष, साहस र धैर्यता चाहिन्छ ।
























