
विराटनगर । नेपालको सुदूर हिमाली गाउँबाट उठेर अग्ला चुचुरोहरु चुम्ने लाक्पा शेर्पाको कथा केवल सफलताको मात्रै होइन । अनवरत संघर्ष र इच्छाशक्तिले भरिएको जीवन यात्रा पनि हो ।
संखुवासभा जिल्लाको मकालु गाउँपालिका–१ मा जन्मिएका उनी विकट हिमाली भेगमा हुर्किए । त्यहाँका सुखदुःखका अनुभवहरूले उनलाई अझै बलियो बनाएको थियो । पहाडहरू छिचोलेर शिखर चुम्ने त्यो यात्रा कतिपय पलमा सजिलो थिएन । तर, उनी अडिग भएर अघि बढे ।
उनले संखुवासभामै रहेको विश्वको पाँचौं अग्लो शिखर मकालु (८४६३ मिटर) ८ पटक आरोहरण गरिसकेका छन् । तर, मकालु आरोहण केवल संख्या मात्रै थिएन । त्यो हरेक पटकको नयाँ चुनौती, नयाँ सपना र विश्वासको प्रतिविम्ब थियो । हिमाल आरोहण गर्दा आफ्नो क्षमताले सर्वोच्च सीमा (कीर्तिमान) कायम गर्छभन्ने कल्पनासमेत उनले गरेका थिएनन् ।
सानो गाउँको भरिया जीवनदेखि लिएर विश्वकै अग्लो हिमाल चढ्ने साहससम्मको यात्रामा उनी अघि बढे । कहिलेकाहीं ठूला तुफानले उनको मनलाई थला पारे भने कुनै बेला थकाइले शरीर ढल्यो । तर, उनले कहिल्यै हार मानेनन् ।
‘मेरो हरेक सफलताका पछाडि परिवारको आशा, साथ र गाउँको माया थियो,’ उनी गर्विलो स्वरमा भन्छन् । लाक्पा मुख्य रूपमा आरोहण मार्ग बनाउने ‘रुप–फिक्सिङ’ टोलीको नेतृत्व गर्ने क्षमताका लागि प्रख्यात छन् ।

उनले २०२५ को अप्रिल महिनाको सुरूवातमा मकालुको चुचुरोसम्म ‘रुप–फिक्सिङ’ टोलीको सफल नेतृत्व गरे । अन्य आरोहीहरूका लागि सुरक्षित र स्पष्ट मार्ग खोलिदिए । उनको यो नेतृत्वले धेरै पर्वतारोहीलाई सफल आरोहणको अवसर प्रदान गरेको छ ।
उनले २०२२ मा १६ दिनको छोटो अवधिमा ३ पटक मकालु हिमाल सफलतापूर्वक आरोहण गरी ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेका थिए । यसलाई पर्वतारोणको पाटोबाट असाधारण मानिन्छ । ती सबै आरोहणमा उनी आफ्ना ‘क्लाइन्ट’हरूको मार्गदर्शनमा थिए । त्यसो त उनी विश्व कीर्तिमान कायम गर्ने सोचेर मकालु हिमाल चढेका थिएनन् ।
उनै विश्व कीर्तिमानी लाक्पा भन्छन्, ‘मैले त केवल मेरो जिम्मेवारी निभाइरहेको थिएँ । विदेशी आरोहीहरुलाई बाटो खोल्दै अगाडि बढाउँदै थिएँ । त्यही क्रममा थाहा पाएँ कि मैले विश्व रेकर्ड नै तोडेछु ।’ १६ दिनमा ३ पटक मकालु आरोहण गर्नु सजिलो थिएन ।
प्रत्येक आरोहणले शरीर र मनलाई गहिरो परीक्षा लिन्थ्यो । चिसो हावा, अत्यधिक थकान र कहालीलाग्दो जोखिमबीच पनि लाक्पाले हार मानेन् । किनभने उनलाई जिम्मेवारी इमान्दार पूर्वक पूरा गर्नु थियो । पीडा र कठिनाइलाई आफ्नै विजयको बाटो बनाउँदै अगाडि बढेका लाक्पा भन्छन्, ‘त्यो त्यति ठूलो ‘इस्यू’ थिएन । तर, विश्वमा नै नाम लेख्न सक्नु समान्य पनि हैन ।’
हरेक कठिनाइलाई स्वीकारेर प्रत्येक पाइलामा आफूलाई झन् बलियो बनाउँदै सपना साकार पार्न लागेका लाक्पाले मकालुबाहेक विश्वकै सर्वोच्च शिखर सगरमाथा, चो ओयू लगायतका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु आरोहण गरिसकेका छन् । ७ हजार र ६ हजार मिटर उचाइ भएका धेरै हिमालहरूमा उनका पाइला परिसकेका छन् ।
उनको नेतृत्व दक्षता र समर्पणलाई नेपाली पर्वतारोहण क्षेत्रले उच्च मूल्यांकन गर्छ । लाक्पा सधैं आफ्ना टोलीका सदस्यहरूको सफलता र सुरक्षालाई प्राथमिकतामा राख्ने आरोहीको रुपमा पनि उत्तिकै परिचित छन् । उनले ‘लुक्ला आउटडोर’ ब्रान्डका ‘एथलिट’को रूपमा समेत मान्यता प्राप्त गरेका छन् ।
विश्व कीर्तिमान कायम गरेका उनको नेपाल सरकारप्रति भने गुनासो पनि छ । उलने पर्वतारोहीहरूको सुरक्षा र जीवन बिमा सुनिश्चित गरिनुपर्ने माग नेपाल सरकारसमक्ष वर्षौंदेखि राख्दै आइरहेका छन् । ‘जति माग राखे पनि सरकार सुन्दैन,’ उनको गुनासो छ ।
आफूलाई जोखिममा राख्दै देशको नाम उच्च बनाइरहेका लाक्पाजस्ता धेरै आरोहीहरुको जीवन र परिवारको सवाल छ । ‘जति अग्ला हिमालहरू चढिन्छन्, त्यति नै जोखिम र परिवारको माया हुन्छ । हाम्रो परिवार पनि चल्नुपर्छ । आरोहीको जीवनको भर हुँदैन । हिमाल चढ्न जाँदा प्राकृतिक विपत्तिसँग कसले सक्ने र ? त्यसैले नेपाल सरकारले १५ लाखको बिमालाई २५ लाखसम्म बनाउँदा उचित हुन्छ जस्तो लाग्छ,’ उनी भन्छन् ।
अब उनी धवलागिरि आरोहणको तयारी गरिरहेका छन् । जीवनको अर्को अध्याय धवलागिरि हिमालमा खोज्ने उनको योजना छ । लाक्पाको सहसीपूर्ण कदमले हिमालको बाटो मात्रै खोलको छैन । हजारौं युवा आरोहीलाई पनि आफ्नो सपना पछ्याउन प्रेरित गरहेको छ ।
पछिल्लो समय हिमाली भेगमा बढ्दै गएको जोखिम र समस्याप्रति सरकारले सजग एवं गम्भीर भएर कदम चाल्नु पर्ने उनको सुझाव छ । ‘जोखिम मोल्ने शेर्पाहरूको सम्मान उचित क्षतिपूर्तिले मात्रै हुन्छ । त्यसले हाम्रो परिवारमा केही आशा जाग्छ,’ उनी भन्छन्, ‘हामीले आफ्नो जीवनको सबैभन्दा अनमोल हिस्सा पर्वतको काखमा छोड्दैछौं । अनि सरकारबाट त्यो सम्मान र सुरक्षा पाउन चाहन्छौं ।’
त्यसो त यो लाक्पाको मात्रै होइन, अनगिन्ती पर्वतारोही परिवारको कथा हो । धेरै ‘लाक्पाहरु’को सपना हो । जसले नेपाली हिमालको सफलता र गौरवलाई आफ्नो पीडा एवं बलिदानमा उतारेका छन् ।
























