
विराटनगर । जनप्रतिनिधिबीचको विवादका कारण मोरङको ग्रामथान गाउँपालिका बजेट बिहीन बनेको छ । नीति तथा कार्यक्रममाथिको विवादपछि गाउँसभामा खुकुरी प्रदर्शन भएको छ ।
गत असार २७ गते खुकुरी प्रदर्शन भएको थियो । त्यो घटनापछि गाउँसभा बस्न सकेको छैन । असुरक्षा बढेको भन्दै उपाध्यक्षसहितका जनप्रतिनिधिले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । तर, प्रहरी भने राजनीतिक मुद्दा भन्दै पन्छिएको छ ।
नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्ष नमोनारायण माझीसहित सोही पार्टीका जनप्रतिनिधि तथा नेकपा (एमाले) र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच गत असार २७ गते बसेको १७ औं गाउँसभामा विवाद भएको थियो । छलफलकै क्रममा विवाद चर्किएपछि अध्यक्ष माझीका समर्थकले अभद्र व्यवहार गरेका थिए ।
गुणावती धामी थारु गाउँपालिकामा एमालेबाट निर्वाचिन उपाध्यक्ष हुन् । उनका अनुसार सुरक्षा गार्डको खुकुरी खोसेर राजन माझीले सभाहलको ढोका छेकी काट्ने र कुट्ने धम्की दिएका थिए । गाउँपालिका अध्यक्ष माझीले राखेका बाउन्सरले सुरक्षा गार्डको खुकुरी खोसेर जनप्रतिनिधिलाई धम्की दिएको उनको आरोप छ ।
खुकुरी उज्याएपछि अध्यक्ष माझीले नै राजनको हातबाट खुकुरी खोसेका थिए । ‘जनप्रतिनिधिलाई खुकुरी देखाएको सीसी टीभी फुटेजमा प्रष्ट देखिन्छ । प्रहरीले पनि फुटेज हेरेको छ,’ उनले भनिन् ।
गाउँसभामा अध्यक्ष माझीसँग एमाले र कांग्रेसका जनप्रतिनिधीको विवाद भएपछि अध्यक्षका सहयोगी सुरक्षा गार्डको खुकुरी खोसेर आएको उपाध्यक्ष थारुले बताइन् । ‘अध्यक्षले अहिले बाउन्सर राख्या छन् । बाउन्सरले खुकुरी लिएर कुदयो,’ उनले भनिन्, ‘गाउँसभामा अध्यक्षसँग विवाद भयो । त्यतिकैमा अध्यक्षका पार्टीका मान्छेहरुले सुरक्षा गार्ड अनिता चौधरीले बोकेको खुकुरी नै तानेर आक्रमणको प्रयास गरेका हुन् ।’
गाउँपालिका अध्यक्ष माझी भने कसैले खुकुरी नदेखाएको बताउँछन् । उनले आफूले समाधान गर्न सक्ने विषयलाई जनप्रतिनिधिले ठूलो बनाएर पालिकाको बजेट प्रभावित बनाउन खोजेको बताए । ‘म गाउँपालिका अध्यक्ष हुँ । तर, उहाँहरु माओवादीको अध्यक्ष भन्नु हुन्छ,’ उनले भने, ‘गाउँसभा राख्छु उहाँहरु बहिष्कार गर्नुहुन्छ । तर, गाउँसभामा छलफल गर्दा निचोड निस्किने विषय हो यो ।
निचोड निस्किने विषयमा बहिष्कार गर्नु दुर्भाग्यपूर्ण भएको माझीको दाबी छ । उनले भने, ‘कुखुरी देखाएको के प्रमाण छ ? कार्यकर्ताले बोकेको छैन । सुरक्षा गार्डले खुकुरी बोकेको हुन्छ ।’ उनले गाउँपालिकामा असुरक्षा भए आफूले सुरक्षाको प्रत्याभूत गरिदिने बताए ।
खुकुरी आतंकपछि साउन ७ गते गाउँपालिकाकी उपाध्यक्ष गुणावती धामी थारु, ६ जना वडाध्यक्ष र २ जना कार्यपालिका सदस्यसहित ९ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए । जनप्रतिनिधिहरुले खुकुरी आतंक मच्चाउने ग्रामथान–२ का राजन माझी, गयालाल माझी, ग्रामथान–१ का राजेश भगत र विष्णु माझीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जाहेरी दिएका थिए । उनीहरु सबै माओवादीका कार्यकर्ता हुन् ।
‘विपक्षीहरुले सभाहलको ढोका छेकेर बाहिर निस्की भन्दै हामीलाई काट्ने कुट्ने भनी धाकधम्की दिएर अपशब्द प्रयोग गरी गालीगलौज तथा हुलदंगा गरी डर र त्रासको माहोल बनाइदिए,’ जाहेरीमा भनिएको छ । तर, जिल्ला प्रहरी कार्यालय मोरङले यो राजनीतिक विषय भएको बताउँदै जाहेरी दर्ता गरेको छैन । खुकुरी आतंकलाई राजनीतिक मुद्दा भन्दै प्रहरी पन्छिने गरेको हो ।
उपाध्यक्ष थारुले भने पुनः जाहेरी दर्ता गर्नका लागि आइतबार जाने बताइन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरीया गाउँसभामा खुकुरी प्रदर्शनको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । प्रहरीको अनुसन्धानपछि जाहेरी दर्ताको प्रक्रिया अघि बढ्ने उनले बताए । सबै कुरा हेरेर वास्तविकता बुझेर जे–जे गर्नु पर्ने हो हामी गर्छौं,’ उनले भने, ‘जाहेरी दर्ता नगरेको भन्ने होइन । प्रारम्भिक विषय हेर्दैछौं ।’
अन्योलमा बजेट
गत असार १० गते गाउँपालिकामा एमालेको बहिष्कारका बाबजुद गाउँपालिका अध्यक्ष माझीले आफैं बजेट पेस गरेका थिए । तर, आन्तरिक विवादका कारण पालिकाको बजेट पास भएको छैन । बजेट कहिले पास हुने हो भन्ने अन्योल छ ।
बजेट पास नहुँदा पालिकाको आर्थिक गतिविधिदेखि लिएर सबै कामकारबाही प्रभावित भएको छ । अध्यक्ष माझी जनप्रतिनिधकै असहयोगका कारण बजेट पास गर्न नसकिएको बताउँछन् ।
‘बजेट पास नहुँदा राजस्व संकलन भएको छैन । काम रोकिएको छ । गाउँपालिकालाई असफल बनाउने प्रयास भइरहेको छ,’ उनले भने । उपाध्यक्ष थारु भने अध्यक्ष माझीले पालिकामा राखेका बाउन्सरका कारण समस्या भएको बताउँछिन् । बजेट पास गर्नका लागि अध्यक्षले चासो नदिएको उनको आरोप छ ।
यस्तो छ प्रहरीले दर्ता नगरेको जाहेरी



























