
विराटनगरका पारुल क्षेत्रीले थालेको ‘हरियाली अभियान’ एउटा प्रेरणादायी उदाहरण बनेको छ । यो आधुनिक समाजमा नागरिक सहभागिता, उत्तरदायित्व र सार्थक नेतृत्वको ज्वलन्त उदाहरण पनि हो ।
डेढ वर्षअघि सुरु भएको यो अभियानले विराटनगर महानगरपालिकाको स्वरूप बदल्दै लगेको छ । बिरुवा रोपेर मात्र होइन, हुर्काएर संरक्षण गर्ने अभियानमार्फत पारुल र उनको टोलीले परिवर्तन सम्भव छ भन्ने ज्वलन्त प्रमाण दिइरहेको छ । समस्या औंल्याउनेभन्दा समाधानको बाटो समाउनेहरू साँचो अर्थमा परिवर्तनकर्मी हुन् भन्ने सन्देश यसले दिएको छ ।
एक समय विराटनगरको राजनीतिक वृत्तमा परिचित अनुहार पारुल अहिले सक्रिय राजनीति छाडेर हरियाली फैलाउने अभियानमा समर्पित छन् । राजनीतिक नारा एवं सभा छाडेर हातमा कोदालो र पानीको बाल्टी लिएर सडकछेउका खाली जमिनमा उनी बिरुवा रोप्छन् । सडकमै घाममा उभिएका वृद्धवृद्धा र स्कुले बालबालिकालाई देखेर उनले बिरुवा रोप्न सुरु गरे ।
रज्यले नगरेको काम एउटा व्यक्तिले व्यक्तिगत विवेक र निष्ठाबाट सुरु गर्नु आफैंमा असामान्य छ । यस्तो असामान्य कार्यका लागि राज्य र समाज दुवैले सम्मानसाथ सहयोग गर्नु जरुरी छ ।
पारुलको अभियान कुनै तडकभडकपूर्ण आयोजनाको नाममा सीमित छैन । उनीहरु बिरुवा किन्छन्, रोप्छन् र बाँसले घेरा हालेर सुरक्षा गर्छन् । अझ बिरुवाहरूको स्याहारमा निरन्तर खटिने संस्कृति विकास गरेका छन् ।
जनश्रम, समय, समर्पण र आफ्नै गोजी खर्चमा चलेको यस्तो अभियानलाई हेर्दा राज्यको भूमिका झन् कमजोर देखिन्छ । महानगरपालिकादेखि प्रदेश सरकारसम्मका निकायहरूले करोडौं बजेट विनियोजन गर्दा समेत यस्ता साना र दूरगामी कामहरू गर्न नसक्नु लाजमर्दो अवस्था हो।
समाजका सचेत नागरिकले आँफैं लागेर काम गर्दा राज्य मौन बस्नु पनि ठीक हैन । पारुलको अभियान जस्तो समुदायमै आधारित कार्यक्रमलाई नगरपालिकाले नीति र कार्यक्रममै समावेश गरेर साथ दिनुपर्छ ।
बिरुवाका लागि आवश्यक समाग्री, स्याहारका लागि प्राविधिक सहयोग, सडक छेउमा संरचना निर्माण, पानीको पहुँच, सुरक्षित घेराबार लगायत कुरामा नगरपालिकाको जिम्मेवार बन्न जानुपर्छ । राज्य र जनताबीचको सहकार्यले मात्रै दिगो विकास सम्भव हुन्छ ।
पारुल क्षेत्रीको अभियानले एउटा नयाँ संस्कारको पनि सुरुआत गरेको छ । जन्मदिन, वैवाहिक वर्षगाँठजस्ता अवसरमा बिरुवा रोप्ने संस्कार बसालेको छ । यस्तो अभ्यासले समाजमा वातावरणप्रति जिम्मेवारीको चेतना फैलाउँछ ।
बिरुवा रोपेर हुर्काउँदै लैजानु भनेको दीर्घकालीन सोचको अभ्यास हो । यसलाई शिक्षा नीतिमा समेत समावेश गरेर सबै विद्यालयले अपनाउनु आजको आवश्यकतामै पर्छ ।
हरियाली अभियानका क्रममा बिरुवाहरू भाँचिने, उखेलिने जस्ता घटनाहरू पनि देखिन्छन् । यस्ता कार्य गलत र निन्दनीय छन् । हरियाली संरक्षण कार्यविरुद्ध हुने यस्ता उच्छृङ्खल व्यवहारलाई निरुत्साहित गर्न सामाजिक सचेतना र कानुनी कारबाही आवश्यक छन् ।
पारुलको अभियान कुनै संख्या वा भौगोलिक दायरामा सीमित छैन । विराटनगरका सबै खाली र उपयुक्त स्थानहरूमा बिरुवा रोप्ने हो । यस्तो दृष्टिकोण प्रशंसायोग्य मात्र होइन, नक्कल गर्न योग्य पनि हो । पालिका र प्रदेशले पारुल क्षेत्रीको अभियानबाट सिक्नुपर्छ । यस्ता अभियानलाई एउटा सानो उदाहरणको रूपमा मात्र नभएर, वातावरणीय संकटको दीर्घकालीन समाधानको माध्यमका रूपमा लिन सक्नुपर्छ ।
वातावरण संरक्षणको कुरा सबैले गर्छन् । तर, काममा परिणत गर्ने कमै मात्र हुन्छन् । पारुल क्षेत्री र उनको ‘हरियाली समूह’ले भने संवेदनशीलता, संकल्प र समर्पणले मात्रै सहरलाई हरियो र सुरक्षित बनाउन सकिन्छ भन्ने सपना देखेको छ । यस्ता अभियानबाट ‘राज्य के गर्दैछ ?’ भन्ने आरोपभन्दा पनि ‘हामीले के गर्न सक्छौं ?’ भन्ने आत्ममूल्यांकन गर्न प्रेरणा मिल्छ ।
यो अभियानलाई १ जनाको अथवा एउटा समूहको काम भनेर बेवास्ता गर्नु हुन्न । यसको सफलतामा विराटनगरको सामूहिक भविष्य निर्भर छ । नगरवासी, व्यापारी, शैक्षिक संस्था, युवा समूह, निजी क्षेत्र र सबै सरकारी निकायले आ–आफ्नो ठाउँबाट सहयोग गर्न जरुरी छ ।
पारुल क्षेत्रीले बाटो देखाइसकेका छन् । साँचो विकास, नागरिक नेतृत्व र हरियालीको मार्ग अब साथ दिन हामी सबै तयार हुनुपर्छ । त्यसैले, अब भन्नुपर्ने समय आएको छ, ‘पारुलको हरियाली अभियानलाई सबैले सहयोग गरौं ।

























