
विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ अस्पतालले स्त्रीरोग तथा प्रसूति सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ५ वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा ल्याएको छ । यससँगै अस्पतालमा कुल अप्रेसन थिएटरको संख्या २४ पुगेको छ ।
अस्पतालले मंगलबार (आज) आयोजना गरेको एक कार्यक्रमका बीच ५ वटा अत्याधुनिक अप्रेसन थिएटरको उद्घाटन गरिएको हो । नवनिर्मित प्रसूति विभागको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले, अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीलगायतले उद्घाटन गरे ।
स्त्री तथा प्रसूति सेवाका लागि ५ वटा अप्रेसन थिएटर, २ सय शैय्या र ३० बेडको डिलक्स क्याबिनका साथै छुट्टै प्रसूति आइसियु सेवा पनि विस्तार गरेको छ ।
यसले गर्दा गर्भवती महिला तथा नवजात शिशुहरूले थप सुरक्षित र राम्रो उपचार पाउन सक्ने विश्वास गरिएको छ । कोशी प्रदेश र आसपास क्षेत्रका महिलाहरूका लागि गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच बढाउने अपेक्षा गरिएको बताइएको छ ।
प्रसूति वार्डको उद्घाटन गर्दै प्रा.डा. वाग्लेले विराट मेडिकल कलेजले पूर्वी क्षेत्रका बिरामीहरूलाई उत्कृष्ट सेवा प्रदान गरेर स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताए । उनले विराटले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा दुवैमा गुणस्तर कायम राखेको र आउने दिनहरूमा पनि यसरी नै उत्कृष्ट कार्यलाई निरन्तरता दिइने विश्वास लिएको बताए ।
अस्पतालका अध्यक्ष डा. कार्कीले सरकारले लामो समयपछि मेडिकल कलेजहरूको एमबीबीएस कोटा बढाउने निर्णय गरेर स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश दिएको बताए ।

सरकारले १० वर्षअघि मेडिकल क्षेत्रमा गर्नुपर्ने काम अहिले आएर गरेको बताउँदै, डा. कार्कीले ‘१० वर्षपछि आइस ब्रेक भएको छ । निजी क्षेत्रले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गर्दै पूर्वाधार निर्माण गरेर ठुलो फड्को मारेको छ । सरकारले १० वर्षअघि नै गर्नुपर्ने कोटा वृद्धिको निर्णय अहिले गरेको छ, यो अत्यन्तै राम्रो र स्वागतयोग्य छ । यस निर्णयले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा मद्दत पुग्ने छ ।’
स्त्री तथा प्रसूति जस्तो संवेदनशील सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरिएको छ । यस कदमले महिला बिरामीहरूलाई अझै उत्कृष्ट र सुरक्षित उपचार प्रदान गर्न मद्दत पुग्ने, डा. कार्कीले भने ।
अस्पतालले नेपालकै सबैभन्दा ठुलो १ सय बेडको इमरजेन्सी विभागसहित विभिन्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको अस्पताल प्रशासनले जनाएको छ । जसमा स्त्री तथा प्रसूति आपतकालीन सेवा पनि समावेश छ । अस्पतालका अनुसार हाल २० जनाभन्दा बढी स्त्रीरोग तथा प्रसूति विशेषज्ञ चिकित्सकहरूले नियमित सेवा दिइरहेका छन् ।
साथै, नेपाल सरकारको ‘सुरक्षित आमा सुरक्षा कार्यक्रम’लाई लामो समयदेखि निरन्तरता दिँदै आएको छ ।
कोशी प्रदेशलगायत आसपासका क्षेत्र र छिमेकी मुलुकका महिलाहरूलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने अस्पतालको भनाइ छ ।
यसले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यसका साथै, अस्पतालले बिरामी, बिरामीका आफन्त, चिकित्सक र कर्मचारीहरूको सुविधालाई ध्यानमा राख्दै आधुनिक र सुविधा सम्पन्न ‘विराट खाजा घर’ पनि सञ्चालनमा ल्याएको छ ।

























