
विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी घाइते हुनेहरूको पहिचान खुलेको छ ।
सवारी दुर्घटनामा परी घटनास्थलमै ६ जनाको मृत्यु भए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
शनिबार बिहान ताप्लेजुङबाट धरानका लागि आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई तमोर खोलाको किनारमा ३ सय मिटर तल झरी सवारी दुर्घटना भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले उक्त गाडीमा १२ जना सवार रहेकामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य ६ जनाको धरान र पाँचथरमा उपचार भइरहेको जानकारी दिए ।
उनका अनुसार मृतक कसैको पनि पहिचान खुल्न नसक्दा सनाखत हुन सकेको छैन भने घाइते सबैको पहिचान खुलिसकेको छ ।
सवारी दुर्घटनामा परेर धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ताप्लेजुङ मिरिङ्दन गाउँपालिका–५ का २२ वर्षीय महेश लिम्बूको निधार दायाँ आँखामाथि, टाउकोमा चोट रहेको र अवस्था मध्यम रहेको छ । ताप्लेजुङ मिक्लाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु सावा लिम्बूको निधार, दायाँ आँखामाथि, अनुहार र छातीमा चोट छ अवस्था गम्भीर रहेको छ । सोही ठाउँका सन्तोष लिम्बूको छोरा ७ वर्षीय अनिष लिम्बूको दायाँ खुट्टामा चोट, अवस्था सामान्य छ ।
त्यस्तै, सुनसरी इटहरी उपमहानगरपालिका –७ का ३५ वर्षीय महेश गुरागाइँको ढाडमा चोट लागेको छ । नाम थर वतन नखुलेको अन्दाजी २५ वर्षीय पुरुषको टाउको र अनुहारमा चोट लागी गम्भीर अवस्था रहेको छ ।
ताप्लेजुङ मिक्लाखोला गाउँपालिका– ४ का ३० वर्षीय संजोहाङ लिम्बूको टाउकोको पछाडिको भागमा गहिरो चोट, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।























