वर्षाको संकट कोशी र पूर्वी नेपालमा जोखिम कायमै

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १९, आइतबार ०८:५१

काठमाडौं । देशको अन्य क्षेत्रमा वर्षाको संकट हटे पनि कोशी र पूर्वी नेपालमा वर्षाको संकट कायमै रहेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठुलो वर्षाको संकट टरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ घण्टादेखि काठमाडौंमा वर्षा रोकिएको छ भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भएर उक्त प्रणाली कोशी प्रदेशतिर सरेको छ।

काठमाडौं र बागमती प्रदेशमा ठुलो पानी पार्ने प्रणाली कमजोर भएकाले काठमाडौं उपत्यकामा वर्षा रोकिएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताएका छन् । साथै यो प्रणाली आज दिउँसोदेखि पूर्ण रूपमा बागमती प्रदेशबाट बाहिरिने सम्भावना रहेको पनि उनको भनाइ छ।

वर्षा गराउने प्रणाली हाल कोशी प्रदेशमा केन्द्रित भएको छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, मधेश प्रदेशमा पानी पर्ने बादल देखिए पनि हिजोको जस्तो ठुलो पानी पर्ने सम्भावना कम रहेको छ भने पश्चिमी क्षेत्रमा कम असर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा यो प्रणालीको ठुलो असर नपर्ने देखिएको छ ।

तर, वर्षा रोकिए पनि प्रमुख नदीहरूको बाढीको तह खतराको नजिक वा सोभन्दा माथि रहेकाले जोखिम कायमै रहेको विभागको भनाइ रहेको छ।

बागमती नदी, कोशी नदी र कनकाई नदीमा खतराको तह पार हुने अवस्थामा छन् भने मेची नदी खतराको तहमा भए पनि बहाव घट्दो क्रममा छ । नदीहरूको जलस्तर घट्न आज दिनभरि लाग्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.