
विराटनगर । लगातारको अविरल वर्षापछि इलामको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर इलामको सूर्याेदय, माङसेवुङ, देउमाई, फाकफोकथुम र इलाम नगरपालिकामा गरी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेश कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले पहिरोमा पुरिएर मृत्यु हुने संख्या मात्रै आएको र उनीहरूको नाम खुल्न बाँकी रहेको जानकारी दिए ।
उनका अनुसार मृत्यु हुने बाहेक अन्य पनि पहिरोमा पुरिएको हुनसक्ने भएकाले खोजी कार्य भइरहेको छ ।
इलाम नगरपालिका–५ घोसगाउँमा ६ जना, सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५ जना, माङसेवुङ गाउँपालिका–१ पाटिगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धुसुनीमा २ जना, सोही वडाको धारेमा १ जना र फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रवक्ता पोखरेलले बताए ।
पहिरोमा पुरिएर बेपत्ता भएको हुनसक्ने आशंका प्रहरीले गरे छ । अहिले केही समय अघिदेखि पानी पर्न रोकिए पनि भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।























