
काठमाडौं । लगातारको वर्षा पछि आज माैसम खुलेको छ । तर देशका केही स्थानमा आज मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको विभागले बताएको छ ।























