विपद्को मारमा कोशी : ४७ जनाको मृत्यु

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १७:१४

विराटनगर । वर्षापछिको बाढी र पहिरोजस्ता विपद्मा परेर कोशी प्रदेशमा मृत्यु हुनेको संख्या ४७ पुगेको छ । असोज १८ गतेयता अविरल वर्षासँगै आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति गरेको छ ।

प्राकृतिक विपद्सँगै सडक अवरुद्ध हुनेदेखि घर डुबानमा परेसँगै धेरै स्थानमा जनजीवन अस्तव्यस्त बनेको थियो । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । मृतकहरु इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र भोजपुरका रहेका छन् ।

विपद्मा परेर अहिलेसम्म इलाममा १ जना बेपत्ता छन् । दुई हजार एक सय पाँच जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । प्रहरीका अनुसार सबैभन्दा धेरै जनधनको क्षति इलाम जिल्लामा भएको छ । इलाममा हालसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

पाँचथर र उदयपुरमा दुई–दुई, मोरङ, खोटाङ, सुनसरी र भोजपुरमा एक–एक जनाको मृत्यु भएको एसएसपी पोखरेलले बताए । उनका अनुसार बेपत्ता भएकामध्ये एक जना इलामकै रहेको र खोजी कार्य जारी राखिएको छ ।

इलाम, पाँचथर र संखुवासभा क्षेत्रका धेरै ठाउँमा वर्षापछिको बाढीपहिरोले सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध पारेको छ । कोशीका विभिन्न ८ वटा स्थानमा सडक अवरुद्ध छन् । मेची राजमार्गअन्तर्गत इलाममा एक, मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरमा तीन, कोशी राजमार्गअन्तर्गत संखुवासभामा दुई, तमोर करिडोरअन्तर्गत धनकुटामा एक र दिक्तेल–गाईघाट सडक खण्डअन्तर्गत खोटाङमा एक ठाउँमा सडक अवरुद्ध रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पहिरोले बस्ती, खेतीयोग्य जमिन र सडकमा असर पुगेको छ । वर्षाका कारण इलाम–फिदिम सडकखण्डका केही ठाउँमा ठुल्ठूला पहिरो खसेका छन् । जसका कारण यातायात सञ्चालनमा कठिनाइ भइरहेको छ ।

प्रदेशका केही स्थानमा संचार र बिजुली सेवा पनि प्रभावित भएका छन् । कतिपय स्थानमा उद्धार र राहत कार्यमा पनि समस्या भएको थियो । सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए ।

प्रहरीका अनुसार उद्धार गरिएका २ हजारभन्दा बढी व्यक्तिहरूलाई अस्थायी रूपमा विद्यालय, मन्दिर र सामुदायिक भवनमा राखिएको छ । विपद्का कारण कोशी प्रदेशमा हालसम्म ६ हजार ४ सय ४८ परिवार विस्थापित भएका छन् ।

विस्थापित हुने अधिकांश झापा, मोरङ र सुनसरीका छन् । बाढी र डुबानका कारण २९ हजार ३ सय ९२ जना प्रत्यक्ष प्रभावित भएका छन् । बाढीले विस्थापित भएका परिवारलाई प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन तथा विभिन्न सामाजिक संघ–संस्थाले खाद्यान्न र लत्ता–कपडासहितको सहयोग पुर्याइरहेका छन् ।

एसएसपी पोखरेलका अनुसार अझै पनि पहाडी क्षेत्रका कतिपय ठाउँमा नयाँ पहिरो खस्ने जोखिम देखिएको छ । उनले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै उद्धारका लागि सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहेको जानकारी दिए ।

कोशी प्रदेशको प्रमुख प्रशासनिक केन्द्र विराटनगरमा पनि प्रदेश सरकारले आकस्मिक विपद् व्यवस्थापन बैठक राखेर प्रभावित जिल्लामा राहत सामग्री पठाउने निर्णय गरेको छ । प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र विस्थापितहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

अधिकांशको मृत्यु पहिरोमा पुरिँदा र घर भत्किँदा भएको हो । बाढीले बगाउँदा पनि केहीले ज्यान गुमाएका छन् । क्षतिको पूर्ण विवरण संकलन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरू सक्रिय बनेका छन् ।

जोखिमका बेला आवश्यक परेमा थप उद्धार टोली पठाउने तयारी समेत गरिएको पोखरेलको भनाइ छ । मौसमविद्हरूले पहाडी क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.