
घर वरिपरि धानका बालाहरू पहेँलपुर भएर लटरम्म झुलिरहेका छन्। आँगनमा सयपत्री र मखमली ढकमक्क फुलिरहेका छन्। गाउँ-टोलमा सरसफाइ गर्ने चटारो छ, अनि घरहरूलाई रङ्ग्याएर चिटिक्क पार्ने ध्याउन्न छ। यति भएपछि तिहार भित्रिएको सङ्केत सजिलै पाइहालिन्छ।
सानैदेखि धेरै मनपर्ने पर्व तिहार सधैँ विशेष हुन्थ्यो। झिलिमिली बिजुली बत्ती, देउसी–भैलोको रमझम, पटका पड्काउँदा साथीभाइमाझको उत्साह अनि लङ्गुरबुर्जा खेल— यी सबै सम्झँदा मन बाल्यकालमै पुग्छ।
आफू जुवातास खासै नखेले पनि आफन्त र साथीभाइले खेलेको हेर्दा बेग्लै मजा आउँथ्यो। दसैँ सकिएर न्यास्रो लागिरहेका बेला केही दिनमै तिहारको रमझम सुरु हुँदा मनमा छुट्टै उत्साह सञ्चार हुन्थ्यो।
अहिले आफ्नो ठाउँबाट निकै टाढा हुँदा पनि त्यही झझल्को मनभरि आइरहेको छ। घर जान नपाए पनि मन भने उतै पुगेको छ। जन्मेको, हुर्की बढी गरेको ठाउँमै मन घुमिरहेको अनुभव भइरहेको छ।
जन्मभूमि चितवनको भरतपुर महानगरपालिका–५, श्रीपुर र त्यस आसपासका गाउँहरूमा यतिबेला उस्तै उत्साह होला भन्ने लाग्छ।
हाम्रा हजुरबुवा वि.सं. २०१३ सालमा लमजुङको गोर्जेबाट बसाइँ सरेर त्यहाँ आउनुभएको थियो। उहाँले बसोबास सुरु गरेको चोक पछि ‘सापकोटा चोक’ भनेर चिनिन थाल्यो। सापकोटा परिवारका ७–८ घरहरू त्यहीँ वरिपरि छन्। ठूल्ठूला वरपीपलका रुखहरू छन्। दसैँकै बेला हजुरबुवाले खरबारीबाट खर ल्याएर त्यसैको मोटो डोरी बाटी पिङ हालिदिनुहुन्थ्यो।
जब चोकमा पिङ तयार हुन्थ्यो, गाउँको रमझम नै बेग्लै हुन्थ्यो। टाढा-टाढाबाट पनि पिङ खेल्न आउनेहरूको भीड लाग्थ्यो।
बाल्यकाल अनि रमाइला पर्वहरूसँगको सम्झना जोडिएको त्यो पिङ हाल्ने वरको रुख अचेल छैन। बूढो भएर होला, त्यो मरेछ। त्यही रुखको छहारीमा लङ्गुरबुर्जा खेल्ने गरिन्थ्यो। मलाई यो खेल निकै रमाइलो लाग्थ्यो। आफन्तहरूले कौडा खेलेको हेर्न उस्तै मजा आउने। खेल भइरहेको ठाउँमा पुगेर च्याँखे थाप्नु, केही पैसा जित्नु… ओहो, त्यो बेलाको रमाइलो अहिले कहाँ पाउनु!
देउसी-भैलो तिहारको मुख्य आकर्षण नै हो। साथीभाइ भेला भएर यसको तयारी हुन्थ्यो। प्रायः म नै भट्याउने गर्थें, साथीहरूले साथ दिन्थे। सुरुमा हामी सहभागी सबैको घर पुगेर खेल्थ्यौँ, त्यसपछि छरछिमेक र अलि परसम्म पुगेर देउसी खेलिन्थ्यो।
कहिलेकाहीँ त राति भट्यायो भट्यायो… कसैकसैले घरको ढोकै खोल्दैन थिए। मिहिनेत खेर गयो भनेर रिस पनि उठ्थ्यो त्यस्तो बेलामा। धेरैजसोले सेलरोटी, चामल, फलफूल र दक्षिणा दिन्थे। कति दक्षिणा दिए भन्ने कौतुहल कति हुन्थ्यो कति। ती पलहरू सम्झँदा अहिले रमाइलो हाँसो पनि उठ्छ।
तिहारको झिलिमिली सबैलाई मन पर्ने नै भयो। मलाई पनि असाध्यै मन पर्थ्यो। अझ पटका किनेर ल्याएर पड्काउनुको रमाइलो अर्कै हुन्थ्यो। अलि सानै हुँदा तेल हालेर तयार पारिने दियोको झिलिमिली हुन्थ्यो। अलि पछि बिजुली आएपछि अनेक रङ्गिचङ्गी बिजुलीका बत्तीहरू बल्थे।
कसको घर कति सिँगार्ने र कत्तिको झिलिमिली बनाउने भन्ने अघोषित प्रतिस्पर्धा नै चल्थ्यो। एकपटक तिहारका बेला सानो मामाले पटका ल्याइदिएको अहिल्यैजस्तो लाग्छ। कहिलेकाहीँ बुवाले पनि किनेर ल्याइदिनुहुन्थ्यो। पछि त म आफैँ बजार गएर किनेर ल्याउन थालेको थिएँ। मैले पटका पड्काउँदा गाउँघरका अरू केटाकेटी धुइरिएर रमाइलो मान्थे।
हाम्रो गाउँमा ऊ बेला रमाइलो सांस्कृतिक कार्यक्रम पनि हुन्थ्यो। फूलबारी, मङ्गलपुर, रामपुर, तोरीखेतजस्ता आसपासका गाउँमा पनि त्यस्ता कार्यक्रम आयोजना गरिन्थ्यो। हत्ते गरेर कार्यक्रम हेर्न साथीभाइहरू भेला भएर पुग्थ्यौँ।
कार्यक्रममा अमिताभ बच्चनको फिल्मको ‘खाइके पान बनारस वाला’, मिथुन चक्रवर्तीको ‘आइ एम अ डिस्को डान्सर’ र नेपाली गीत ‘बेनीको बजार.. जता माया उतै छ नजर’ जस्ता चर्चित गीतमा नृत्यहरू प्रस्तुत हुन्थे। हास्यव्यङ्ग्यका अभिनयहरू पनि प्रस्तुत हुन्थ्यो।
तिहारको मुख्य दिन भाइटीकामा हामी सबै बुवा, ठूलोबुवा, काका, दाजुभाइ, फुपू, दिदीबहिनीहरू मूल घरमा भेला भएर टीका लगाउँथ्यौँ। सेलरोटी, आरसा, अनारसा, फिनी, ओखर, काजु किसमिस— तिहारका यी खानेकुराको बेग्लै महत्व हुन्थ्यो। खाएपछि तास खेल चल्थ्यो।
पर्व हरेक वर्ष आइरहन्छन्। सधैँ उत्साह र उमङ्ग लिएरै आउँछन्। तर बाल्यकालमा जस्तो ठूलो भएपछि नहुने रहेछ। अझ आफ्नो ठाउँ छाडेर टाढा रहँदा एकप्रकारले औपचारिक रूपमा मात्र आएजस्तो अनुभव हुँदो रहेछ।
जेजस्तो भए पनि हाम्रा मौलिक चाडपर्वहरू भनेका हाम्रा गहना हुन्, गौरव हुन्। अब हामीले नयाँ पुस्तालाई यस्ता सांस्कृतिक पक्षहरूसँग परिचित गराउँदै उनीहरूलाई पनि आफ्नोपनमा गर्व गर्न सक्ने बनाउनु पर्छ।


















